अत्तरिया : सुदूरपश्चिम प्रदेशमा आयातीत औलोका कारण देशभर औलो रोग बढ्दै गएको छ । सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, अछाम र बाजुरा गरी चार जिल्लालगायत १० जिल्लामा आयातीत औलो रोग देखिएको छ भने कैलाली, कञ्चनपुर, अछाम र डोटीलगायत १० जिल्लामा स्थानीय औलोको प्रकोप रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशका नौ वडा औलोको उच्च जोखिममा रहेका छन् भने २९ मध्यम तथा पाँच सय ८९ न्यून जोखिममा रहेको निर्देशनालयले जनाएको छ । प्रदेशको अछाम, बाजुराका एक–एक, बैतडी, डडेल्धुराका दुई–दुई र कञ्चनपुरका तीन वडा उच्च जोखिममा रहेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार प्रदेशमा एक हजार दुई सय ८५ जनसंख्या औलोको जोखिममा छन् । आर्थिक वर्ष २०७७\०७८ सम्म प्रदेशका छ वटा जिल्ला औलोको जोखिममा रहेकोमा आर्थिक वर्ष २०७८\७९ मा थप बाजुरामा १२ जना बिरामी फेला परेसँगै प्रदेशका सात जिल्ला औलोको उच्च जोखिममा छन् । प्रदेशको कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा, बाजुरा र डोटी जिल्ला औलो रोगको जोखिममा रहेको तथ्यांकहरूले देखाएको हो । कैलालीमा सबैभन्दा बढी औलोका नयाँ केस फेला परेका छन् । कैलालीमा आर्थिक वर्ष २०७८\७९ मा ९७ जना औलोका बिरामी फेला परेका छन् ।
त्यस्तै, कञ्चनपुर जिल्लामा ३६, अछाम जिल्लामा २४, बैतडी जिल्लामा २, डडेल्धुरा जिल्लामा दुई र डोटी जिल्लामा औलोका ६ जना बिरामी फेला परेको स्वास्थ्य निर्देनालयले जनाएको छ । कैलाली स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको गोदावरी नगरपालिका औलोको उच्च जोखिम रहेको स्थानीय तहका रुपमा रहेका छन् ।
कैलाली स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले सन् २०२५ भित्र स्थानीय औलोलाई शून्यमा झार्ने लक्ष्य निर्धारण गरिएको बताए । उनले भने, ‘अहिले कैलाली जिल्लामा स्थानीय औलोका बिरामी फेला परेका छैनन् । आयातीत औलोका बिरामीका कारण चुनौती बढ्दै गएको छ ।’
माइक्रोस्टाट्रिफिकेसन २०१९ का अनुसार सूदूरपश्चिम प्रदेशका ३० वटा वडाहरूलाई औलोको उच्च जोखिमका रुपमा राखिएको छ भने एक सय चारवटा वडामा मलेरिया ९औलो०को जोखिम मध्यम खालको रहेको उल्लेख छ । सूदूरपश्चिम प्रदेशमा वार्षिक परजीवी प्रकोप दरमा कमी आइरहेको छ । कैलाली स्वास्थ्य कार्यालयका अनुसार औलो संक्रमण अन्य व्यक्तिमा सर्न नदिन स्वास्थ्य कार्यालयले विभिन्न गतिविधि गरिरहेको छ ।
स्वास्थ्य कार्यालय प्रमुख धामीले भने, ‘औलोको जोखिम क्षेत्रको पहिचान, संक्रमितको पहिचान तथा परीक्षण, निःशुल्क उपचार, कीटनाशक झुल वितरण, विषादी छर्कनेलगायतका गतिविधि स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाले गर्दै आएका छन् ।’
प्रदेशमा चालू आर्थिक वर्षमा एक सय पाँचजना नयाँ औलोको बिरामी फेला परेकोमा ११ जनामा स्थानीय औलो छ भने ९४ जना आयातीत औलोका बिरामी छन् । तीमध्ये पनि ८९ बिरामी भारतबाट आयातीत हुन् । आर्थिक वर्ष ०७८\७९ मा एक सय ८१ जना नयाँ बिरामी फेला परेकोमा १६ स्थानीय र एक सय ६५ आयातित औलोका बिरामी रहेका छन् । एक सय ६५ मध्ये एक सय ६३ जना भारतबाट फर्केका हुन् ।
आर्थिक वर्ष २०७७\७८ मा स्थानीय १६ र एक सय ६५ आयातीत गरी दुई सय ८३ नयाँ बिरामी फेला परेका थिए । आयातीत बिरामीमध्ये एक सय ६३ जना भारतका विभिन्न स्थानबाट फर्केको निर्देशनालयको तथ्यांकमा छ ।