अत्तरियाका युवाहरु महावीर पुनका मागहरुमा समर्थन जनाउँदै उत्रिए सडकमा

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियाका युवाहरु राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरु गरेको धर्नामा समर्थन जनाउँदै सडकमा उत्रिएका छन् । पुनले शुक्रबार देखि काठमाण्डौंको माइतीघरमा सुरु गरेको ४ बुँदे मागहरुलाई समर्थन जनाउँदै अत्तरिया क्षेत्रका युवाहरु सडकमा उत्रिएका हुन् ।

महावीर पुनले उठाएका माग सम्बोधन गर्न र सरकारलाई दवाव दिन अत्तरियाका युवाहरु स्वफुर्त रुपमा अत्तरिया चोक नजिकैको सडकमा उत्रिएर नारा लेखिएका पोष्टर लिएर आधा घण्टासम्म सडकमा उभिए दवाव सिर्जना गरेका छन् । समर्थन जनाउन सडकमा पुगेका युवा जय धामीले महाविर पुनले राखेका एजेण्डाहरु एकदमै जायज भएको बताउँदै आफुहरु त्यही मागको पुरा हुनुपर्ने कुरालाई लिएर सडकमा ब्यानर सहित उत्रिएको बताए ।

त्यस्तै समर्थनमा सहभागी युवा पुस्कर शर्मा जोशीले आफ्ना सबै कुरा त्याग गरेर नेपालमा नयाँ-नयाँ आविस्कार गर्नुपर्छ भनेर लागेका महावीर पुनको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने बताए । उनले महावीर पुनको मागमा आफूहरुले समर्थन जनाउँदै सडकमा आएको बताए । त्यस्तै समर्थनमा सहभागी प्रमोद अधिकारीले महामवीर पुनले गरेको योगदानलाई राज्यले चिन्न आवश्यक रहेको बताए । उनले राष्ट्रमै बसेर केही गर्छु भनेर अगाडी बढ्नेका लागि राज्यले वातावरण बनाउन आवश्यक रहेको बताए ।

त्यस्तै समर्थनमा सहभागी हरी कडायतले महावीर पुनका माग सम्बोधन गर्न सरकारलाई दवाव दिन आइतबार पनि अत्तरिया चोकमा आधा घण्टा उभिएर समर्थन जनाउने कार्यक्रम रहेको बताए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.