कैलालीको अत्तरियामा ४ सय ५० सुकुम्बासीका टहरा भत्काइए

अत्तरिया। कैलालीको अत्तरियास्थीत वन क्षेत्रमा अतिक्रमित घर टहरा खाली गराइएको छ। वन कार्यालयले गोदावरी नगरपालिका ३ चौकीडाँडामा वन र सडक क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका करिब ४ सय ५० सुकुम्बासीका घर टहरा खाली गराएको हो।

दुईवटा डोजरको सहायताले अतिक्रमित सबै घरटहरा खाली गरिएको छ। तीन वर्षदेखि जंगल किनारमा टहर निर्माण गरेर बस्दै आएकाहरुका घर टहरा भत्काएर पुरै क्षेत्र खाली गरिएको डिभिजन वन कार्यालय कैलालीका निमित्त प्रमुख भीम प्रसाद ढकालले बताए । वन डिभिजन कार्यालय, स्थानीय तह र स्थानीयसँगको सहकार्यमा अतिक्रमित वन क्षेत्र खाली गर्ने काम अहिले पनि जारी छ। अतिक्रमित वन क्षेत्र खाली गर्न वन सुरक्षाकर्मी तथा नेपाल प्रहरीसहित ठुलो संख्या सुरक्षाकर्मी परिचालन गरिएको थियो।

सडक किनारमा वन क्षेत्रको जमिन ओगटेर घर टहरा निर्माण गरी बस्दै आएकाहरुले विरोध गरे पनि डिभिजन वन कार्यालयले अतिक्रमित क्षेत्र खाली गराउन डोजर चलाएको हो। सो क्षेत्रमा अधिकांश दलित समुदायको बसोबास थियो। भूमि नभएकालाई भूमिको व्यवस्था गरिदिनुपर्ने भन्दै उनीहरुले महेन्द्र राजमार्गको सडक किनारमा तीन वर्ष अघि नै बस्ती बसालेका थिए।पछिल्लो एक साता यता सुदूरपश्चिमका पहाडी जिल्लाबाट जग्गा पाउने भन्दै सयौंको संख्यामा मानिसहरु आएर टहरा निर्माण गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.