सुदूरपश्चिममा मन्त्री नहुँदा काम प्रभावित, कृषि क्षेत्रमा पनी बजेट खर्च न्युन

धनगढी। सुदूरपश्चिम प्रदेशमा मन्त्रीपरिषद् विस्तार नहुँदा प्रदेशका बिभिन्न मन्त्रालयको कामकाज प्रभाबित बनेको छ । प्रदेशका ४ मन्त्रालय करिब पाँच महिना देखी नेतृत्व बिहीन बन्दा बिभिन्न क्षेत्रमा यस्को असर परिरहेको छ । गत २६ पुसदेखि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्रीविहीन छन् । मन्त्रीविहीन बन्दा चालु आर्थिक बर्षको बजेट कार्यान्वयनमा समस्या भएको छ ।

त्यसैमध्य प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त गर्न ढिलाई भएको छ । सो मन्त्रालयले चालू आर्थिक वर्षको साढे ९ महिनामा ३३ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ । चालू आवको बैशाख १४ गतेसम्मको तथ्यांकअनुसार मन्त्रालयले चालूतर्फ ९५ करोड ५९ लाख ७९ हजार र पुँजीगततर्फ ७ करोड ९० लाख २ हजार गरी कूल १ अर्ब ३ करोड ४९ लाख ८१ हजार बजेट खर्च गरेको हो ।

आर्थिक वर्षको साढे ९ महिना बितिसक्दा पनि मन्त्रालयले चालूतर्फ ३४.५६ प्रतिशत र पुँजीगततर्फ २१.५८ प्रतिशत गरी कूल ३३.०५ प्रतिशत बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख वासुदेव जोशीले बताए । जुन कूल विनियोजित बजेटको केबल एक तिहाइ मात्र हुन आउँछ ।मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयअन्तर्गतका विभिन्न समितिमा बजेट र कार्यक्रम पठाउनुपर्ने भए पनि मन्त्री नियुक्त नभएकाले बजेट कार्यान्वयनमा ढिलाइ भएको उनले बताए । मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा बजेट कार्यान्वयनमा समस्या देखिएको हो। मन्त्रीस्तरीय निर्णयबाट कार्यान्वयनमा लैजानुपर्ने योजनाहरू मन्त्रिपरिषद् विस्तार हुन नसक्दा कार्यान्वयनमा जान सकेको छैन ।

कृषकलाई वितरण गर्नुपर्ने अनुदान तथा अन्य कार्यक्रमहरू सञ्चालनका प्रक्रिया सुचारु भएका छैनन् । मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयअन्तर्गतका विभिन्न समितिमा बजेट र कार्यक्रम पठाउनुपर्ने भए पनि मन्त्री नियुक्त नभएकाले बजेट कार्यान्वयनमा ढिलाइ भएको छ।अघिल्लो आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पुँजीगततर्फ विनियोजित ३१ करोड ३९ लाखमध्ये २१ करोड ६३ लाख रुपैयाँ मात्र खर्चेको थियो । जुन विनियोजित बजेटको ६८.९३ प्रतिशत हो । यस्तै चालूतर्फ विनियोजित २६ करोड ४५ लाखमध्ये १९ करोड ९५ लाख मात्र खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

उक्त तथ्याङ्क र चालू आवमा हालसम्म पनि बजेट खर्च हुन नसकेको अवस्थालाई हेर्दा विनियोजित बजेट खर्च हुन नसक्ने समस्यालाई सङ्केत गर्छ। मन्त्रालय तथा अन्तर्गतका कार्यालयलाई चालू आर्थिक वर्षमा चालू र पुँजीगत गरी कूल ३ अर्ब १३ करोड १८ लाख ६६ हजार रकम विनियोजन भएको छ । जसमध्ये पुँजीगतमा ३६ करोड ६० लाख ६ हजार र चालूतर्फ २ अर्ब ७६ करोड ५८ लाख रकम रहेको छ।प्रदेश सरकारले चालू आर्थिक वर्ष सकिन अढाइ महिना मात्र बाँकी रहँदा २५ अर्ब ३० करोड ७५ लाख ८४ हजार बजेट कार्यान्वयन गर्न बाँकी छ । चालूतर्फ सात अर्ब ५८ करोड ४४ लाख ९५ हजार र पुँजीगततर्फ १७ अर्ब ४२ करोड ३० लाख ८८ हजार रुपैयाँ कार्यान्वयन गर्न बाँकी रहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.