अत्तरिया : गोदावरी नगरपालिकामा बाढीपीडित र सुकुम्वासीको नाममा वन क्षेत्रमा बनाइएका घर टहरा भत्काउने अभियान चलिरहेकै बेला सामुदायिक बन भित्र नेपाली काँग्रेसको भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।
गोदावरी नगरपालिका १ स्थित सुरक्षा महिला सामुदायीक बन क्षेत्र भित्रै बिपी स्मृति भवन निर्माणका लागि शिलान्यास गरिएको हो । भवनको निर्माणका लागि शिलान्यास गर्न केन्द्रीय सांसद नै त्यहाँ पुगेका थिए । नेपाली कांग्रेसका प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायरले सुरक्षा महिला सामुदायीक बन क्षेत्र भित्रै शिलान्यास गरेका हुन् ।
केन्द्रीय सांसद बलायर मात्र होइन बनकी अध्यक्ष लक्ष्मी भण्डारी पनि बन क्षेत्र अतिक्रमण गरेर बनाइने भवनको शिलान्यास गर्न पुगेकी थिइन् । उनले आफूहरूलाई सामुदायिक बनको जग्गा दिने अधिकार नभएको तर, भोगाधिकार ल्याउने आश्वासन दिएपछि आफूहरूले सहमति दिएको बताइन् ।
‘हामीलाई त्यो अधिकार छैन । उहाँहरूले भोगाधिकार ल्याउँछौँ भन्नु भयो’ उनले भनिन्, ‘मलाई पनि हिजो बोलाउनु भएको थियो , अनि गएको थिए । ’
वन क्षेत्र अतिक्रमण गरेर नेपाली कांग्रेसले बनाउन लागेको बिपी स्मृति भवनको लागि शिलान्यास गरिए पनि बाकी काम अघि बढ्ने बिषयमा भने विवाद सुरु भएको छ ।
एउटै नगरपालिका भित्र बाढीपीडित र सुकुम्वासीको नाममा वन क्षेत्र कब्जा गर्दा डोजर चलाएको र पार्टीको नाममा भने बन क्षेत्र भित्रै पक्की भवन बनाउन दिएको भन्दै विरोध सुरु भएको हो ।
‘बनका बिषयमा सरकारी नीति एउटै हुनु पर्छ । गरिबलाई हटाउने र धनीलाई बस्न दिने कुरा राम्रो होइन’ नेकपा एमाले गोदावरी अध्यक्ष गोकर्ण भट्टले भने ‘बन क्षेत्र अतिक्रमण गर्न माननीय नै पुगेको कुराले हामीलाई लज्जा बोध भइरहेको छ ।’
उनले त्यो निर्माण कार्य तत्काल बन्द गर्ने दावी गरे । सब डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निराजन कडालले पनि वन क्षेत्र भित्र कुनै पनि संरचना निर्माण गर्न नदिइने दाबी गरेका छन् ।
‘हामीले अस्ति भर्खरै यहि पालिकामा ४५० टहरा हटाएका छौँ । फेरी कब्जा गर्न दिने भन्ने हुँदैन’ उनले भने ‘वन क्षेत्र भित्रै भवन बनाउने गरि शिलान्यास गरेको कुरा सुनेको छु । त्यो तत्काल रोक्न लगाउँछु । रोकिनु पर्छ । ’ उनले सामुदायिक बनले निर्णय गरेर जग्गा दिएको भन्दै त्यस्तो अधिकार सामुदायिक बनमा नरहेको बताए ।
सम्बन्धित पाेस्टहरु