
झापा : निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी–८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो। परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको थियो भन्ने यति बेला निकै रहस्यको विषय बन्न पुगेको छ।
कनकाई नगरपालिका–४, कोटीहोममा १७ दिन पहिले बेवारिसे शव फेला परेको थियो। इलाका प्रहरी कार्यालय सुरुङ्गाले मुचुल्का तयार ग¥यो र शवलाई आफन्तको पहिचान नहुन्जेलसम्मका लागि शवगृह भद्रपुरमा छाडिदियो। सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्रचार गरियो। आफन्तले शव राखेको चौथो दिन शवगृहबाट बुझेर ल्याई कनकाई–४ को कोटीहवन क्षेत्रमा अन्तिम संस्कार गरेका थिए। सुरजका कान्छा काका किरियामा बसे ।
आफ्नो किरिया गरिएको कुरा सामाजिक सञ्जालबाट थाहा पाएपछि किरिया सकेको भोलिपल्ट २९ वर्षीय सुरज घर आइपुगे । गाउँलेले बिनाकर्म घरमा प्रवेश गर्न दिन हुन्न भनेर कनकाईमाईमा उनको पुनः जन्मकर्म गरिएको बहिनी विनाले बताइन। दाइ सुरज विगत तीन वर्षदेखि घर छाडेर हिँडेको र कोटीहोम क्षेत्रमै बस्ने गरेको थाहा पाएको बताउँदै विनाले भनिन, “कोटीहोममा मानिस मरेको सुनियो। शवगृहमा हेर्दा दाइको जस्तै खुट्टा लामो देख्यौँ। अनुहार सुन्निएकोले चिन्न सकिएन। दाइ नै हो भन्ने ठम्याएर शव बुझेर ल्यायौँ र संस्कार ग¥यौँ।” दाजुको मृत्यु भएको खबर सुनेर कुवेतमा रहेका भाइसमेत स्वदेश फर्किएर आएको बहिनी विनाले बताइन । सुरज मादक पदार्थ सेवन गर्ने भएकाले आफ्नो किरिया गरिएको कुरा सामाजिक सञ्जालमा देख्दा पनि फोन सम्पर्क नगरी भोलिपल्ट मात्र घर पुग्नुभएको परिवारजनले बताएका छन्।
इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुर मिश्रले आफन्तले पनि सबै कुरा बुझेर मात्रै शव जिम्मा लिनुपर्नेमा त्यस्तो नगरिदिँदा समस्या आएको बताए।
