
काठमाडौँ : सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले नेतृ डा. आरजु राणा देउवालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडेर चरित्र हतया गरेको भन्दै आपत्ति जनाएको छ।
काठमाडौं उपत्यका बाहिरका कार्यक्रममा सहभागी हुन गएका बेला केही सञ्चारमाध्यमले राणा विदेश भागेको समाचार प्रकाशन तथा प्रशारण गरेपछि तरुण दलले आपत्ति जनाएको हो। ‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय सांसद डा. आरजु राणा देउवाज्यूको विभिन्न सञ्चारमाध्यममा विदेश भागेको र व्यक्तिगत चरित्र हत्या गर्ने खालको अनर्गल कुराहरु प्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष विद्धान गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरण प्रहरी अनुसन्धानमै रहेको हुँदा ठोस प्रमाणबिना कसैप्रति लाञ्छना लगाउनु गम्भीर अपराध भएको स्मरण गराउँदै सबै सरोकारवालाहरुलाई सचेत रहन आग्रह पनि गरेका छन्। तरुण दलले जारी अनुसन्धानलाई यथाशीघ्र टुंगोमा पुर्याउन सरकार, गृह मन्त्रालय र नेपाल प्रहरीलाई आग्रह गर्दै अनुसन्धानमा संगठनको पूर्ण सहयोग रहने पनि बताएको छ।
