टीकापुर : टीकापुरको बस्ती नजिकै आफ्नो बच्चासहित पाटेबाघ देखा परेको छ । टीकापुर नगरपालिका वडा नं. २ विजयनगर नजिकै पाटेबाघ देखिएको हो । स्थानीय नरेश ऐरले आफ्नो बच्चालाई मुखमा बोकेर हिँडिरहेको पाटेबाघको भिडियो खिचेका छन् । उनका अनुसार रानीकुलाको इन्टेक नजिकैको नहरको सडकमा पाटेबाघ देखिएको हो ।
बच्चासहित बस्ती नजिकै पाटेबाघ देखिएपछि स्थानीयमा त्रास फैलिएको छ । बच्चा बोकेर हिँडेको पाटेबाघले कुनै पनि बेला आक्रमण गर्न सक्ने बताइन्छ । कैलालीको पूर्वी भेगका बस्तीमा पछिल्ला वर्षहरुमा जंगली जनावरको प्रवेश बढ्न थालेको छ । टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न बस्तीमा बेलाबेलामा जंगली जनावरले मान्छेलाई आक्रमण समेत गर्ने गरेका छन् । जंगली जनावरको आक्रमणमा परेर कतिपयले ज्यान समेत गुमाएका छन् ।
२०७९ असार ५ गते जंगली हात्तीको आक्रमणमा परेर टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १५ की ५० वर्षीया टंक सोडारीले ज्यान गुमाइन्। कर्णाली नदी किनारमा भैरहेको तटबन्धमा मजदुरी गरेर फर्किरहेकी सोडारीलाई जंगली हात्तीले आक्रमण गरेको थियो। उनको घटनास्थलमै ज्यान गएको थियो।