नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कडा कारबाही गर्न मानवअधिकार संरक्षण मंचको माग

अत्तरिया : नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका नेता, उच्च पदस्थ कर्मचारी तथा दलका परिवार समेतको संलग्नता एवम् संरक्षणमा चरम भ्रष्टाचारको विषयमा मानवअधिकार संरक्षण मंच सुदूरपश्चिम प्रदेश समितीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मानवअधिकार संरक्षण मंच सुदूरपश्चिम प्रदेश समितिका प्रदेश अध्यक्ष डिल्लीराज जोशीले विहीबार एक प्रेस विज्ञप्ती जारी गर्दे यस प्रकारको संगठित अपराधमा संलग्न व्यक्तिहरु विरुद्ध कडा कानुनी कारवाहीको माग गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणको सवाल राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय चर्चाको विषय बन्न पुगेको छ । यस्ता गतिविधिले नेपाली नागरिकलाई राष्ट्रियता विहीन बनाउने अमानवीय कार्य समेत हुन पुगेको विज्ञप्तीमा भनिएको छ । भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि, २००३ को नेपाल पक्ष राष्ट्र हो । पक्ष राष्ट्र भएको नाताले पनि भ्रष्टाचार नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउने, सदाचारिता र जवाफदेहिता कायम गरी सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने एवम् सार्वजनिक सम्पत्तिको उचित व्यवस्थापन गर्ने दायित्व नेपाल सरकारको हुन्छ प्रदेश अध्यक्ष जोशीले विज्ञप्तीमा जनाएका छन् ।
मासमले उक्त घटनामा नेपाल प्रहरीले तदारुकताका साथ छानविन अगाडि बढाएकोमा प्रसंशा समेत गरेको छ । राजनीतिक संरक्षणमा हुने यस प्रकारका आपराधिक क्रियाकलाप माथि मासमले सदैव खबरदारी गर्दै आइरहेको छ । राज्य शक्तिको दुरुपयोगमा गरिएको यो कृत्य गम्भीर प्रकृतिको भ्रष्टाचारको विषय मात्र नभई मानव बेचविखन, ठगी र राज्य बिरुद्धको गम्भीर अपराध समेत हो भन्ने निष्कर्ष मानवअधिकार संरक्षण मंचको रहेको छ हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । नागरिकको सेवा र रक्षामा खटिएका निकायहरुबाट यस किसिमको कार्य हुनु लोकतन्त्रको लागि चिन्ताको विषय बनेको छ ।
भ्रष्टाचारले सार्वजनिक जवाफदेहिता र पारदर्शितामा प्रभाव पार्दछ । जसले गर्दा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, स्वास्थ्य, शिक्षा, आवास, खानेपानीलगायत नागरिकको जिविकोपार्जनमा असर पर्दछ ।
त्यस्तै प्रदेश अध्यक्ष जोशी द्धारा हस्ताक्षरित विज्ञप्तीमा मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८ को धारा ७, नेपालको संविधानको धारा १८९१० ले सबै नागरिक कानुनको दृष्टिमा समान हुने र भ्रष्टाचारका घटनामा शून्य सहनशीलताको नीति अबलम्बन गर्दै उच्च मनोबलका साथ स्वतन्त्र, स्वच्छ र निष्पक्ष अनुसन्धान मार्फत संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन समेत माग गरेका छन् । राज्यशक्तिको दुरुपयोग गरी यस्ता निकृष्ट अपराधको अनुसन्धमानमा प्रभाव पार्न सक्ने तर्फ सचेत र सजग रही कानुन बमोजिम अनुसन्धान तथा अभियोजनको जिम्मेवारी निर्धक्क पालना गर्न समेत मानवअधिकार संरक्षण मंचले सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.