Agni Offset Press

भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्न नदिएकोमा कैलाली कांग्रेस उपसभापतिको आपत्ति

Aarati simant

अत्तरिया : नेपाली कांग्रेस कैलाली जिल्ला उप-सभापति भीम बडूवालले भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्न नदिएको भन्दै आपत्ति जनाएका छन् । कैलालीमा सुरु भएको प्रथम जिल्ला सम्मेलनको उद्घाटन सत्रमा आफूलाई मन्तव्य राख्न नदिएको र बन्द सत्रमा पनि आफ्ना एजेन्डा दर्ता नगरेको उप-सभापति बडूवालको आरोप छ । जिल्ला सभापति नारायणदत्त भट्टले भ्रष्टाचारविरुद्ध सङ्कल्प प्रस्ताव दर्ता गर्न नदिएको उनले आरोप लगाए ।

‘सभापति ज्यूले एकलौटी रुपमा कार्यक्रमलाई लैजानु भयो । मलाई उद्घाटन सत्रमा धारणा राख्न पनि दिनु भएन’, उनले भने, ‘बन्द सत्रमा मेरो प्रस्तावलाई दर्ता नै नगर्न भूमिका खेल्नु भयो ।’ प्रथम जिल्ला सम्मेलनमा उनले ‘भ्रष्टाचार गर्ने छैन र भ्रष्टाचार गर्नेलाई बचाउने पनि छैन र जिल्ला कार्यसमितिले जिल्ला समिति सदस्यको सम्पत्ति विवरण जिल्ला कार्यसमितिमा बुझाउने छ र त्यसलाई सार्वजनिक गर्ने छ भन्ने’ दुई प्रस्ताव लिएर गएका थिए । तर, आफ्नो प्रस्तावलाई स्थान नदिएपछि उनी कार्यक्रम स्थलबाट बाहिरिए ।

‘आज सम्मका भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन हुनु पर्ने र निर्दोष फस्नु भएन, दोषी उम्कनु भएन’कार्यक्रमबाट बाहिरिँदै गर्दा उनले भने, कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीमा पनि सभापतिले अप्रजातान्त्रिक तरिका देखाउनु भयो । भ्रष्टाचार जस्तो बिषयमा गम्भीर बन्नु भएन ।’

भ्रष्टाचारमा राजनीतिक दलहरूकै संलग्नता रहेको र देश विकासमा भ्रष्टाचार नै बाधक रहेको भन्दै प्रथम कैलाली जिल्ला सम्मेलनमा उप-सभापति बडूवाल भ्रष्टाचारविरुद्ध सङ्कल्प प्रस्ताव दर्ता गर्ने तयारीमा थिए । तर, सभापति भट्टले अवरोध गरेको उनको आरोप छ ।

यता कांग्रेस सभापति भट्टले उपसभापति बडूवाललाई विधान जानकारी नभएको टिप्पणी गरे । उनले वैशाख २९ गते कार्य सम्पादन बैठक मार्फत एजेन्डा तय भएको जानकारी दिए । उनले उक्त दिन उपसभापति पनि रहेको र आज विरोध गर्नुको औचित्य नरहेको बताए । ‘उहाँलाई विधानै थाहा रहेन छ । खै कसरी उपसभापति बन्नु भयो’, उनले भने, ‘विधान पल्टाएर हेर्नुहोला कार्यसम्पादन बैठकमा उहाँ हुनुहुन्छ अनि त्यो दिन सर्वसम्मत निर्णय पारित गर्ने अहिले विरोध गर्ने हुन्छ ?’

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.