बझाङ : बझाङमा हिमपहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् । जिल्लाको पाटनमा हिमपहिरोमा परेर पाँच जना यार्सा संकलक बेपत्ता भएका छन् । आइतबार सुर्मा गाउँपालिका–२ भानसेरा पाटनमा गएको हिमपहिरोमा परी पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार पाँच जना बेपत्ता भएको खबर प्राप्त भएको बताएका छन् ।
नेटवर्क नहुँदा घटनाको पूर्ण विवरण प्राप्त गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ । पाटनमा यार्सा संकलनका लागि गएका स्थानीयले हिमपहिरोबारे प्रहरीलाई जानकारी गराएका थिए । खबर पाएलगत्तै जिल्लाबाट प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको उनले बताएका छन् । सदरमुकामबाट पैदल डेढ दिन समय लाग्ने पाटनमा प्रहरी टोली पुगेपछि मात्र यकिन विवरण आउने प्रहरी प्रमुख विष्टले बताएका छन्। बेपत्ताहरुको नाम भने अझै खुलेको छैन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा सुर्मा गाउँपालिका–३ का २ जना र ३ जना जयपृथ्बी नगरपालिका–११ का रहेका छन् ।
सम्बन्धित पाेस्टहरु