काठमाण्डौँ : टीकापुर घटनाका दोषी रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका छन् । गणतन्त्र दिवस (जेठ १५) का अवसरमा राष्ट्रपति पौडेलले रेशम चौधरी, टोपबहादुर बुढासमेत १९ जनालाई आममाफी दिएका हुन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरी आममाफी सम्बन्धमा जानकारी गराएकी छन् । ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०\०२\१२ र २०८०\०२\१४ का बैठकका सिफारिस अनुसार टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ, विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रपति कार्यालयको विज्ञप्तिमा रेशम चौधरीको नाम उल्लेख नगरिए पनि आममाफी पाउने १९ जनाको सूचीमा रेशम समेत रहेको राष्ट्रपति कार्यालय जनाएको छ ।