नगर विकास घोटालाविरुद्ध संयुक्त आन्दोलन आवश्यक : निवर्तमान नगर प्रमुख चन्द

प्रकाश भट्ट
कञ्चनपुर : वेदकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोककुमार चन्दले महेन्द्रनगर नगर विकास समितिले गरेका अनियमितता र अवैध लिज खारेज गर्न निर्णायक आन्दोलनको आवश्यकता रहेको बताएका छन्। कञ्चनपुरको महेन्द्रनगर नगरविकास समितिलाई २०३६ सालमा ६३८ बिघा ६ कट्टा १३ धुर जमिनको स्वामित्व हस्तान्तरण गरिएको तर उक्त जमिन जुन प्रयोजनका लागि नगर विकासलाई स्वामित्व दिइएको थियो सो अनुसार प्रयोग नभई विभिन्न बहाना र स्वार्थ अनुसार स्थापना काल देखी नै वास्तविक मास्टर प्लान विपरित जग्गा बिक्री वितरणहुँदै आएको उनको भनाइ रहेको छ।

नगर विकास समितिहरूले गरेका अवैध लिज खारेज गर्न महेन्द्रनगर नगर विकास समितिले गरेका अनियमितताको छानबिनको लागी निवर्तमान नगर प्रमुख चन्द युवा संघ नेपाल कञ्चनपुरको अध्यक्ष भएको बेला २०६३ सालमा उनकै नेतृत्वमा जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएका तथा अवैध लिज खारेज गर्न, नगरविकासले गरेका अनियमितताको छानबिन गर्न अधिकार सम्बन्धी छानबिन आयोग गठन गर्न माग सहितको ध्यानाकर्षण पत्र बुझाएको उनले बताए ।

२०७५ मंसिर र पौष महिनामा कञ्चनपुरबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सदस्यहरूले समेत जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई अवैध लिज खारेज गर्न ज्ञापन पत्र बुझाइएको थियो । त्यसपछि राजनीतिक दलका युवा विद्यार्थीहरूले गरेको संयुक्त विद्यार्थी आन्दोलनमा जनसमुदायको व्यापक उपस्थिति रहेको थियो। आन्दोलनले भीषण रूप लिएपछि भूमाफियाहरू अदालत जाने र अन्तरिम आदेश लिने तथा शक्ति केन्द्रमा जान थाले पछि आन्दोलन तुहाउन घुसपैठ समेत गराइयो।तत्कालीन कञ्चनपुर जिल्लाका सीडीयोले अवैध संरचना हटाउन सूचनाको म्याद सकिए पछि दबाब दिएर सीडीयो सापको सरुवा गरियो र युवा विद्यार्थीहरू आन्दोलनमा आफै डोजर चलाएर अवैध संरचना हटाउन अगाडि बढ्दा अदालतको आदेश र आन्दोलन हिंसात्मक हुने भएकोले आन्दोलनले उठाएका मुद्दा निष्कर्षमा पुर्याउन नसकिएको चन्दले बताए । त्यो भन्दा पहिले विगतमा पनि पटकपटक आन्दोलन हुँदै आइरहेका थिए।

नगर विकासको जग्गा अवैध बिक्री बितरण र भाडामा दिने लगायतका अनियमितताका विषयहरू पटकपटक उठ्ने गरेका र विभिन्न छानबिन समितिहरू समेत बनेका पाइएता पनि हालसम्म नगरविकास जग्गा घोटाला लगायतको छानबिन प्रक्रिया सम्पन्न हुन सकेको छैन । निवर्तमान नगर प्रमुख चन्दका अनुसार यसको छानबिन एवं न्यायिक निरुपणका लागि विशेष छानबिन समिति गठन गर्न जरुरी रहेको छ। केही दिन अघि देखि कञ्चनपुरका युवा विद्यार्थीहरूले सरोकारवाला निकायमा ज्ञापन पत्र र ध्यानाकर्षण पत्र बुझाएर दबाब सृजना गरिरहेका छन्।

जेठ ७ गते देखि उक्त विषयलाई लिएर आन्दोलनको रूपमा क्रान्तिकारी नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरको आयोजनामा उक्त पार्टीका ३ जना नेताहरू अनशन समेत बसिरहेका छन्। आज ८ दिन हुँदा समेत त्यस विषयमा नेपाल सरकार तथा सरोकारवाला पक्षको ध्यानाकर्षण भएको नदेखिएको चन्दले बताए । अनशन बसेका ३ जना नेताको स्वास्थ्य दिनदिनै बिग्रिँदै गइरहेको उनको भनाइ रहेको छ। अनशन बसेका क्रान्तिकारी नेपालका नेताहरू दिपेन्द्र ऐरी र दिल बहादुर बिकको स्वास्थ्य अवस्था गम्भीर भएका कारण मन्त्र हस्पिटलमा उपचार भइरहेको तथा अर्का अनशनकारी जय बहादुर रोकायाको पनि स्वस्थ अवस्था दिनदिनै बिग्रिँदै गइरहेको उनले बताए।

निवर्तमान नगरप्रमुख चन्दले महेन्द्रनगर नगर विकासको अवैध लिज खारेज र अनियमितता भएका कामकारबाहीको छानबिन गरि यथाशीघ्र कारवाही गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै अनशन बसिरहेका पक्ष सङ्ग नेपाल सरकारले वार्ता संवाद गरि समस्याको समाधान गर्न आग्रह गरे । साथै नेपाल सरकारका प्रतिनिधिले अविलम्ब छानबिन प्रक्रिया सुरु गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेर अनशन तोड्न तथा अनशन बसिरहेका व्यक्तिको स्वास्थ्यको ख्याल गर्दै अनशनरत पक्षले अनशन स्थगित गरि आन्दोलनका स्वरुप परिवर्तन गर्न समेत चन्दले आग्रह गरेका छन।

 

भ्रष्टाचार, अनियमितता र अवैध लिज खारेज गर्न कञ्चनपुरका युवा विद्यार्थी, नागरिक समाज, मिडिया, राजनीति लगायत दलहरूले संयुक्त रूपमा आन्दोलन गर्नुपर्ने बेला आएको र आन्दोलनको तयारी गर्नुपर्ने एवम् यसको समन्वय र आन्दोलनको नेतृत्व नागरिक समाजले गर्नुपर्ने उहाँको भनाइ रहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.