धनगढी पुगेर रेशम चौधरीले भने : २०८४ मा चुनाव लड्ने हो, जित्ने हो

अत्तरिया : गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका रेशम चौधरीले २०८४ को निर्वाचनमा आफु चुनाव लड्ने बताएका छन् ।
बुधबार धनगढीमा कैदीबन्दीलाई भेटपछि पत्रकारहरुसँगको संक्ष्ोपमा कुरा गर्दै २०८४ मा हुने आम निर्वाचनमा उम्मेदवार बन्ने बताएका हुन् । जन्मकैदको सजायबाट आममाफी पाए पनि जनप्रतिनिधि बन्न कानुनी बन्देज छ नि सञ्चारकर्मीको प्रश्नमा उनले भने । ‘कसले भन्यो, २०८४ को निर्वाचनमा लड्ने हो । जित्न्या हो ।’
टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षकको पत्नीले चौधरीको आममाफीविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट दिएकी थिइन् । सो विषयमा प्रतिक्रिया दिँदै रेशमले अदालतले गर्ने जुुनसुकै फैसलाको सम्मान गर्ने प्रतिक्रिया दिए ।
‘यो देशको नागरिक भएको नाताले संविधान र कानुनको पूर्ण सम्मान गर्छु । हिजो पनि कानुनको पूर्ण सम्मान गरेर काराबास जीवन व्यतित गरेको हुँ’, चौधरीले भने, ‘लोकतन्त्रमा संविधानले सबैलाई स्वतन्त्रताको अधिकार दिएको छ । चित्त दुःखेको विषयमा जाने, गुनासो गर्ने हक सबैलाई छ । त्यहीअनुसार उहाँहरु पनि जानुभएको होला । न्यायालयले गर्ने जुनसुकै फैसलाको पनि सम्मान गर्छु ।’
चौधरीले टीकापुर घटनामा ज्यान गुमाएका नाबालक र प्रहरीका परिवारले न्याय पाउनुपर्ने र त्यसका लागि आफूले पनि सहयोग गर्ने दावी गरे । यद्यपि टीकापुर घटनाको वास्तविकता अर्कै भएपनि कथा अर्कै बनाइएको चौधरीले टिप्पणी छ । ‘घटनाको कथा अर्कै थियो तर पटकथा लेखियो र फिल्म बनाइयो,’ उनले भने ।
२०७२ भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो । उक्त घटनामा दोषी ठहर भई जन्मकैदको भोगिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.