सन्धिको २८ वर्षपछि दोस्रो पटक नहरमा बग्यो पानी

कञ्चनपुर, २२ असार : महाकाली सिँचाइ आयोजना तेस्रो चरण अन्तर्गत निर्माण सम्पन्न भएको २८ किलोमिटर मूल नहर परीक्षणका लागि पानी छोडिएको छ । टनकपुर बाँधबाट शुक्रबार मूल नहर परीक्षणका लागि पानी छोडिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक रणबहादुर बमले बताए ।
मूल नहर परीक्षणको काम एक सातासम्म चल्ने उनले बताए । यस अवधिमा नहर छेउछाउमा आफ्ना नानीबाली, चौपाया नछोड्न आयोजना कार्यालयले आग्रह गरेको छ । भारतीय पक्ष मूल नहर परीक्षणका लागि पानी छोड्न तयार भएपछि भीमदत्तको ब्रह्मदेवदेखि शुक्लाफाँटाको फुलेली घरकटुवा खोलासम्मको नहर परीक्षण गरिने आयोजनाले जनाएको छ ।
‘२८ किलोमिटरसम्म मूल नहर निर्माणको काम सकिएको छ, यो परीक्षणका लागि आज पानी छोडिएको हो,’ आयोजनाका निर्देशक बमले भने । महाकाली सन्धि भएको २८ वर्षपछि दोस्रो पटक महाकाली सिँचाइको मूल नहरमा पानी बगेको हो ।
निर्माण सम्पन्न भएको मूल नहर परीक्षणका लागि भारतले पानी छोडे पनि यसपछि सिँचाइका लागि निरन्तर पानी छोड्ने÷नछोड्ने टुंगो छैन । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको ब्रह्मदेवदेखि बगुन खोलासम्म १९ किलोमिटर मूल नहरमा गत वर्ष परीक्षण गरिएको थियो । नहरमा आएको पानीले गत १५ असारमा वेदकोटको बगुनमा रोपाइँ समेत गरिएको थियो । तर त्यसपछि तयार भएको उक्त नहरमा पानी छोड्न भारतले आनाकानी गरिरहेको छ ।
नेपाल–भारत दुवैतर्फको उच्च तहबाट संयुक्त रुपमा उद्घाटनपछि मात्रै पानी छोड्ने भारतको अडान छ । पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला पनि औपचारिक उद्घाटनको तयारी गरिएको थियो । तर भारतीय अधिकारीको गलत रिपोर्टिङका कारण नहर उद्घाटन हुन सकेन ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणअघि आयोजना र भारतको एनएचपीसी (नेसनल हाइड्रोपावर कर्पोरेसन) का अधिकारीले संयुक्त रुपमा नहरको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा सबै तयारी पूरा भएको जानकारी गराइएको थियो। तर एनएचपीसीका अधिकारीले नेपालतर्फ नहर निर्माणको काम पूरा नभएकाले तत्काल उद्घाटन गर्न नसकिने रिपोर्टिङ गरेपछि उद्घाटन भएको थिएन । महाकाली सन्धि अनुसार नेपालले पाउनु पर्ने पानी छोड्न भारतीय पक्षले आनाकानी गर्दा किसान सिँचाइ सुविधाबाट बञ्चित छन् । यस क्षेत्रका किसान नहरमा नियमित पानी आउनु पर्ने बताउँछन् ।
महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत ब्रह्मदेवदेखि फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण सम्पन्न भएको छ । गत वर्ष परीक्षण गरिएको १९ किलोमिटरसहित थप ९ किलोमिटर मूल नहर परीक्षण गरिन लागिएको हो । नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजदेखि नेपाली भूमिसम्म भारतले निर्माण गर्नुपर्ने एक हजार दुई सय मिटर नहर निर्माणको काम सम्पन्न भइसकेको छ । महाकाली सिँचाइ आयोजना कार्यालयका अनुसार अहिले मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माणको काम भइरहेको छ । निर्माण गर्नुपर्ने २२ वटा शाखा नहरमध्ये दुई वटाको निर्माणको काम सकिएको निर्देशक बमले बताए ।
आयोजना अन्तर्गत मूल नहर २८ किलोमिटर शुक्लाफाँटाको फुलेलीदेखि कैलालीको गोदावरी खोला (४८ किलोमिटर)सम्म निर्माणका लागि टेन्डर समेत भइसकेको छ । राष्ट्रिय गौरवको आयोजना पर्ने यो आयोजनामा आगामी आर्थिक वर्षका लागि अपेक्षाकृत बजेट विनियोजना भएन । आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि आयोजनामा एक अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ । यो बजेट चालु आर्थिक वर्ष भन्दा कम हो । चालु आर्थिक वर्षमा आयोजनाका लागि एक अर्ब २३ करोड बजेट विनियोजन गरिएको थियो ।
महाकाली सन्धि भएको २८ वर्ष बितिसक्दा पनि नेपालले महाकालीको पानी उपभोग गर्न पाएको छैन । नहर निर्माणमा ढिलाइका साथै भारतीय पक्षको आनाकानीले टनकपुर बाँधबाट नेपालले पाउनुपर्ने पानी २८ वर्ष बितिसक्दा पनि पाउन नसकेको हो । २९ माघ २०५२ मा नेपाल र भारतबीच महाकाली सन्धि भएको थियो । सन्धि अनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८.३५ घनमिटर प्रति सेकेन्ड तथा सुख्खा याममा ८.५० घनमिटर प्रति सेकेन्ड पानी पाउनुपर्छ ।
यो पानी उपयोग गर्नका लागि नेपालले १५२ किलोमिटर लामो मूल नहर, १७२ किलोमिटर लामो शाखा नहर र एक हजार २३ किलोमिटरको प्रशाखा नहर निर्माण गर्नुपर्छ । राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएपछि महाकाली सिँचाइ तेस्रो चरणको कामले गति लिएको छ । सन्धि भएको १० वर्षपछि आर्थिक वर्ष २०६३÷०६४ देखि नहर निर्माणको काम सुरु भएको थियो ।
२२ वटा शाखा नहरहरू निर्माण भए ५३ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउन सकिने छ । आयोजना कार्यालयका अनुसार पहिलो भागमा कञ्चनपुरको ब्रह्मदेव क्षेत्र (दुई हजार ९०० हेक्टर) र चाँदनी–दोधारा क्षेत्र (तीन हजार पाँच सय १० हेक्टर) गरी कुल छ हजार चार सय १० हेक्टरमा पानी पुर्याउने योजना छ ।
दोस्रो भागमा त्रिभुवनवस्ती क्षेत्रमा १९ हजार छ सय २० हेक्टरमा र तेस्रो भागमा कैलालीको मालाखेती क्षेत्रको सात हजार चार सय ९० हेक्टरमा सिँचाइ पुर्याउने योजना छ । यो आयोजनाबाट कञ्चनपुर र कैलालीका गरी ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाई सुविधा पुग्नेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.