अत्तरिया : कैलाली जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । बुधवार धनगढीमा औपचारिक कार्यक्रम गरेर कैलालीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । नियमित खोपको सुदृढीकरण गरी राष्ट्रिय खोप तालिका अनुसार प्रदान गरिने सबै खोपहरू सबै बालबालिकाहरूले पूर्ण रुपमा प्राप्त गरेको सुनिश्चितता भएपछि कैलालीलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए ।
कैलालीका १२६ वडा र १३ स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा पश्चात् जिल्लालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो । वि.स. २०३४ देखि विफर उन्मुलन भए पश्चात् नेपालमा खोप कार्यक्रम विस्तारित खोप कार्यक्रम सञ्चालित भएको थियो । नेपाल सरकारले १३ वटा सरुवा रोग क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिन्जाइटिस र रोटा भाइरसबाट हुने पखाला र टाइफाइड रोग विरुद्ध तथा गर्भवती महिलाका लागि टीटी खोप लगाउने गरिएको छ ।