कञ्चनपुर : आयोजना सुरु भएको डेढ दशकपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत साढे छ सय हेक्टरमा सिँचाइ पुर्याउन सकिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको २८ किलोमिटर मूल नहर निर्माण भएको छ ।
महाकाली नदीमा नेपालतर्फ सिँचाइका लागि पानी दिन बनेको मूल नहरको इन्टेक (गेट) परीक्षणदेखि निर्माण भएको मूल नहरमा पानी परीक्षणसमेत भइसकेको आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इन्जियिनर शम्भु पण्डितले जानकारी दिए । मूल नहर निर्माण भएको क्षेत्रसम्म पानी परीक्षण गरिएको उनले बताए ।
पानी परीक्षणका क्रममा आयोजना कार्यालयले शुक्लाफाँटा नगरपालिकाको सुनबरा नदीमा पानी छाडेको उनले बताए । इन्जिनियर पण्डितका अनुसार हाल निर्माणाधीन २२ वटा शाखा नहरमध्ये दुईवटा शाखा नहर तयार भइसकेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा विसं २०६४ देखि सुरु भएको मूल नहर निर्माणको थप काम अगाडि बढाउने प्रक्रिया रहेको आयोजनाले जनाएको छ । आयोजनाको कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कूल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । यहाँ २२ वटा शाखा नहर निर्माणका लागि रू एक अर्ब बढीको लागतमा काम भइरहेको छ ।
त्यस्तै, २८ किलोमिटर ९शुक्लाफाँटाको फुलेली० देखि ४८ किलोमिटरसम्मको २० किलोमिटर मूल नहर निर्माणको प्रक्रिया सिँचाइ विभाग पुगेको इन्जिनियर पण्डितले बताए ।