गोदावरी नगरमा जताततै महिला तथा बालबालिका बेवारिसे, ३८ जनाको उद्धार

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा जताजतै महिला तथा बालबालिका बेवारिसे अवस्थामा फेला पर्न थालेका छन्। सबैभन्दा बढी महिला र त्यसपछि बालिका बेवारिसे अवस्थामा फेला पर्न थालेका हुन्। गोदावरी क्षेत्रबाट हरेक महिना तीन जना महिला तथा बालबालिका बेवारिस अवस्थामा फेला पर्ने गरेको पाइएको हो।

ईलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया) का अनुसार आर्थिक वर्ष २०७९\८० मा मात्र ३८ जना महिला, बालबालिका तथा पुरुष बेवारिस अवस्थामा फेला परेका छन्। सो अवधिसम्म महिला १३, बालिका १२, बालक १२ तथा पुरुष गरी गरी ईलाका प्रहरी कार्यालय मालाखेतीले ३८ जनाको उद्धार गरेको हो।

गोदावरीमा महिला, बालिका, बालक र पुरुष बेपत्ता हुनेक्रम बढेसँगै बेवारिस अवस्थामा फेला पर्नेको संख्या पनि उत्तिकै रुपमा बढेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख गणेश बरालले बताए। एक वर्षको अवधिमा गोदावरीबाट महिला, बालबालिका तथा पुरुष गरी एक सय ५३ जना हराएको निवेदन परेकोमा ३६ जना अझै फेला परेका छैनन्। गोदावरी नगरपालिकाको विभिन्न स्थानबाट बेवारिस अवस्थामा फेला परेका १३ महिला, १२ बालक, १२ बालिका र एक पुरुषको उद्धार गरेर विभिन्न संघसंस्थाको जिम्मा लगाइएको छ। प्रदेशकै मुख्य यातायातको प्रवेशद्धार मानिने अत्तरिया बजार क्षेत्रमा सबैभन्दा बढी महिला, बालबालिका तथा पुरुष बेवारिस अवस्थामा फेला पर्ने गरेका छन्। गोदावरीबाट महिला तथा बालबालिका हराउने, बालविवाह हुने, देहत्याग गर्ने, लागुऔषधको दलदल लगायतका समस्या ठुलो चुनौतिको रुपमा देखा परेको प्रहरी प्रमुख बरालले बताए।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.