अत्तरिया : कैलालीको गेटामा झण्डै ५ अर्बका भौतिक संरचनाहरु तयार छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले झण्डै पाँच अर्ब खर्चेर चिकित्सा शिक्षा अध्ययन तथा अस्पताल सञ्चालनका लागि भौतिक संरचना तयार पारेको हो। गेटामा प्रशासनिक भवन, अस्पताल भवन, प्रयोगशाला तथा चिकित्सा शिक्षा अध्यापनका लागि भवन तयार छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको पूर्वाधार विकास समितिले छात्राबास भवन तथा आवासका लागि समेत भवन निर्माण गरेको छ। प्रशासन तथा अस्पतालका लागि आवश्यक फर्निचरसमेत गरिद गरिएको छ। पाँचवटा ठेक्का मार्फत थप दुई अर्ब २० करोडका संरचना निर्माणको काम भने जारी छ। पूर्वाधार विकास समितिका निर्देशक हेमराज पुजाराले चालु आर्थिक वर्षको अन्तिमसम्मका लागि काम बाँकी रहेको बताए।
सहिद दसरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा दुई अर्ब २० करोडका संरचना निर्माणको काम भइरहेको छ। पाँचवटा ठेक्का मार्फत सडक, खानेपानी, पर्खाल तथा भवन, विद्युत लाइन विस्तार र भवन निर्माणको काम जारी छ। ८ किलोमिटर सडक निर्माणका लागि ३६ करोड, ओभरहेड ट्याङ्कीसहितको खानेपानी विस्तारका लागि २२ करोड, पर्खाल तथा नसिर्ङग छात्राबास र चारवटा आवास निर्माणका लागि ४२ करोड, विद्युत लाइन विस्तार तथा जडानका लागि ३५ करोड र सातवटा भवन निर्माणका लागि ८५ करोडमा ठेक्का सम्झौता गरिएको छ।
पाँचवटै ठेक्काको काम पूरा हुन अझै एक आर्थिक वर्ष लाग्ने देखिएको छ। पुजाराका अनुसार सडक निर्माणको काम अहिले सुरु भएको छ। अस्पतालको फोहोर पानी व्यवस्थापनका लागि भने अझै ठेक्का गरिएको छैन। अस्पतालबाट आउने फोहोर पानी प्रसोधनका लागि ठेक्काको तयारी गरिए पनि रोकिएको छ।
संघीय सरकारको चालु आर्थिक वर्षको बजेटमा पूर्वाधार समिति खारेजको विषय उल्लेख भएपछि अन्योल बढेको पुजाराले बताए। उनका अनुसार फोहोर पानीको व्यवस्थापनका लागि समस्या छैन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४१ दरबन्दी स्वीकृत गर्दै अस्पताल सञ्चालनको तयारी गरेका बेला पूर्वाधार समिति भने खारेज गरिएको छ।