अत्तरिया, १४ भदौ : शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले ज्ञापन पत्र बुझाएको छ । समितिले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीलाई बिहिबार ज्ञापन पत्र बुझाएको हो ।
धनगढी बिमानस्थलमा सभापति जोशीलाई संघर्ष समितिले आफ्ना मुख्य २ बुदे माग राख्दै ज्ञापन पत्र बुझाएको जनाएको छ ।
संघर्ष समितिका सयोजक लोकराज पाण्डे ‘आगो’ नेतृत्वको टोलीले बुझाएको ज्ञापन पत्रमा यथासिघ्र ६ सय शैय्याको पूर्णकालिन अस्पताल सहित स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालन गरिनुपर्ने माग छ ।
ज्ञापन पत्रमा गेटामा विश्वविद्यालय बनाउने भनेर सरकारले माघ २९ गते गरेको निर्णय कार्यान्वय गराउन संघर्ष समिति आन्दोलनमा होमिएको उल्लेख गरिएको छ । ‘संघीय राज्य सत्ताबाट पटक–पटक सुदूरपश्चिमेलीहरुप्रति गरिएको विभेद तथा अन्यायको शिलशिलाको रुपमा गेटा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनमा भइरहेको ढिलाईलाई हामिले बुझेका छौं’ ज्ञापन पत्रमा भनिएको छ ‘विगत लामो समयदेखि नेपाल सरकारको २०७९ माघ २९ गतेको निर्णय कार्यान्वयन गराउनका लागि हामी संघर्ष समिति नै गठन गरेर आन्दोलनमा होमिएको व्यहोरा अवगत गराउँदछौं ।’
मन्त्री परिषद्को निर्णय तथा सासंदहरुको सार्वजनिक प्रतिवद्धताका वाबजुद पनि उक्त घोषणा कार्यान्वयनमा ढिलाई भएको भन्दै ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्रमा संघीय संसदको चालु अधिवेशनमा स्वास्थ्य विज्ञान विश्व विद्यालय सम्वन्धि विधेयक पास गरिनुपर्ने माग गरिएको छ ।
गेटामा सञ्चालन गर्ने भनिएको सय सैयाको ओपीडीले सुदूरपश्चिमेलीहरुको भावना तथा आवश्यकताको परिपूर्ती नगर्ने ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्र बुझ्दै सभापति जोशीले मन्त्रीपरिषदबाट भएको निर्णर्य कार्यान्वयनमा जाने भएकाले ढुक्क हुन आगह्र गरेका थिए । उनले छिटै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गेटामा पुनः अनुगमन गरेर सरकारलाई आवश्यक सुझाव दिने बताए । विश्वविद्यालयको विधेयक पनि चालु अधिवेशनबाट पास गराउन आफूले पहल गर्ने आश्वासन दिए । गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने विधेयक हाल कानुन मन्त्रालयमा पुगेको अट्कीएको छ ।
