
काठमाण्डौँ : पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको असामयिक निधनपछि उनी बस्ने कुर्सीमा माला राखेर एमालेको सचिवालय बैठक शुरू भएको छ ।
नेम्वाङको निधनपछि एमाले मुख्यालय ललितपुरको च्यासलमा बसेको बैठकमा नेम्वाङ बस्ने कुर्सीमा श्रद्धाञ्जलीस्वरूप माला राखिएको तस्वीरमा देख्न सकिन्छ । संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङको निधनपछि एमालेको आकस्मिक बैठक बसेको हो ।
सोमबार राति हृदयाघातका कारण निधन भएका नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि च्यासल पुर्याइएको छ ।
छोराहरू विदेशबाट फर्किएपछि नेम्वाङको अन्त्येष्टि हुनेछ । सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
