
काठमाडौँ : काठमाडौँको तीनकुने सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
आइतवार बेलुकी प्रहरीले पत्रकार सम्मेलन गरी हत्याकाण्डका आरोपी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई सार्वजनिक गरेको हो । घटनापछि खुकुरीसहित भागेका उनलाई सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरेको प्रहरीले बताएको छ । बोल्न नसक्ने भण्डारीको प्रहरीले दोभासेको सहयोगमा बयान लिएको छ ।
गएको शुक्रवार राति तीनकुनेको दिव्य सःमिलमा विशाल राईसहित चार जनाको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो । प्रहरीले रिसइबीका कारण यो घटना भएको र बाँकी अध्ययन गर्दै जाने बताएको छ । पत्रकार सम्मेलनमा प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले स्थायी घर सिन्धुपाल्चोक भएका भण्डारी काठमाण्डौको काँडाघारीमा रहेको वीरेन्द्र चोकमा बस्दै आएको बताए । भण्डारीलाई घटनाको क्रममा लगाएको कपडासहित पक्राउ गरिएको राठौरले बताए । केही दिनअघि विशाल राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र त्यही रिसिबी साँध्नका लागि भण्डारीले बारम्बार प्रयास गरेको र त्यही क्रममा हत्या गरेको अनुसन्धानबाट खुलेको एसएसपी राठौरले बताए ।
पक्राउ परेका भण्डारी बोल्न नसक्ने भएकाले प्रहरीले लेख्न लगाएको थियो । लेखेर उनले घटनाको स्वीकार गरेका थिए । उनले दिदी–भिनाजुको घरबाट विशाल राईलाई भेटे मार्दिन्छु भन्दै खुकुरी बोकेर ल्याएको एसएसपी राठौरले बताए। भण्डारीले सःमिलको पछाडिको ढोकाबाट प्रवेश गरी हत्या गरेको प्रहरीको भनाइ छ ।
