मदन पुरस्कार टीकापुरका ओझाको ऐँठनलाई दिने निर्णय

काठमाण्डौँ : यस वर्षको मदन पुरस्कार आख्यानकार विवेक ओझाको उपन्यास ऐँठनलाई दिइने भएको छ । मदन पुरस्कार गुठीको आइतबारको बैठकले उक्त निर्णय गरेको हो । आख्यानकार ओझा कैलालीको टीकापुरका स्थानीय हुन् । २०७९ सालको जगदम्बाश्री वरिष्ठ कलाकार टेकवीर मुखियालाई दिने निर्णय भएको गुठीले जनाएको छ । ओझाको यसअघि ऐलानी नामक उपन्यास प्रकाशित छ भने मुखिया लामो समयदेखि ललितकला र पुस्तकका आवरण सिर्जनामा सक्रिय छन् ।

दुवै पुरस्कारको राशि ४÷४ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ । विसं २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपालु तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिर विद्युत् उत्पादक पुस्तकलाई मदन पुरस्कार प्रदान गरेको थियो ।

विसं २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झना स्वरूप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको थियो । यो सम्मान पहिलोपटक नारायण गोपाललाई दिइएको थियो । नेपाल तथा नेपाल बाहिरबाट प्राप्त नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्ये एकलाई मदन पुरस्कार तथा नेपाली भाषा, वाङ्मय तथा संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति र संस्थालाई जगदम्बा–श्री दिइँदै आइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.