अत्तरिया, १५ असोज : कैलालीको गोदावरी नगरपालिका अत्तरिया मोबाईल व्यवसायी संघले सुप समावेशी आधारभुत विद्यालयलाई खाद्यान्न र स्टेश्नरी सामग्रीहरु सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बीच सामग्रीहरु विद्यालयलाई सहयोग गरेको हो ।
गोदावरी २ मा रहेको अपांगता रहेका बालबालिका अध्ययनरत तथा आवासीय विद्यालयलाई संघले २५ हजार बराबरको सामग्रीहरु सहयोग गरेको संघका अध्यक्ष गंगा निरौलाले बताए । कापी, पेन्सिल, चामल ६ कट्टा, तेल ५ लिटर, आलु ५० केजी, नुन, दाल, मसला लगायतका सामग्रीहरु सहयोग गरेको अध्यक्ष निरौलाले जानकारी दिए ।
२०६२ सालमा स्थापना भएको अत्तरिया मोबाईल व्यवसायी संघले व्यवसायीहरुका हकहितका लागि आवाज उठाउनुका साथै विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ । सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ सबै मोबाईल व्यवसायीहरु मिलेर अपांगता भएका बालबालिकाहरुका लागि स्टेश्नरी, खाद्यान्न लगायतका सामग्रीहरु सहयोग गरेको संघका सचिव रमेश कँडेलले बताए ।
संघका अध्यक्ष गंगा निरौलाको सभापतित्वमा आयोजित कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा नगर प्रवक्ता गोपालदत्त भट्ट प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष यज्ञबहादुर महरा, अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहरा, सुपसमावेशी विद्यालयकी अध्यक्ष बिस्नादेबी बोहरा, विद्यालयका संस्थापक अध्यक्ष मानबहादुर साउँद, अनिल मल्ल लगायत अत्तरियाका मोबाईल व्यवसायीहरुको उपस्थिति रहेको थियो । संघका सदस्य चक्र जोशीको स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रमको सञ्चालन सचिव रमेश कँडेलले गरेका थिए ।
सम्बन्धित पाेस्टहरु