बझाङमा फेरि ६.३ म्याग्निच्युडको भूकम्प

बझाङ : बझाङमा भूकम्पको कडा धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दुआसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ । यसअघि मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । पटक-पटक परकम्प गइरहेको हुनाले अहिले स्थानीय बासिन्दा घरबाहिर खुला चौरमा बसिरहेका छन् ।

भूकम्पको धक्का छिमेकी प्रदेश र भारतको दिल्लीसम्म पनि महसुस भएको जनाइएको छ । बीबीसी हिन्दीका अनुसार दिल्ली एनसीआर क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

मंगलबार दिउँसो आधा घन्टाको अवधिमा दुईपटक आएको भूकम्पका कारण बझाङमा घर र विद्यालयमा क्षति पुगेको छ। जिल्लाको तलकोट र चैनपुर आसपास केन्द्रविन्दु बनाएर गएको भूकम्पले भौतिक संरचनामा क्षति पुर्‍याएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार भूकम्पमा दुईजना घाइते भएका छन्। ‘जिल्लाको छबिसपाथिभेरा गाउँपालिका– १ जालेबगरमा भूकम्पले सुख्खा पहिरो गएपछि उक्त पहिरोमा परी दुईजना घाइते भएका छन्,’ डिएसपी शाहले भने।

यस्तै, भूकम्पका कारण तलकोट गाउँपालिकाको सुनिकोट मावि, जयपृथ्वी नगरपालिकाको सत्यवादी माविलगायतका दर्जनौँ विद्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला सदरमुकाममै रहेको बाल विकास मावि गोलाईको भवन पनि भत्किएको छ। ‘पहिलो भूकम्प आएपछि विद्यार्थीलाई घर पठाउँदा ठूलो क्षति हुन पाएन,’ शिक्षक नरेन्द्र उपाध्यायले भने। तलकोट गाउँपालिका– १ को भवन पनि भत्किएको छ। यस्तै जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो गएर बाटोसमेत अवरुद्ध भएको बताइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.