धनगढीमा एमाले सुदूरपश्चिमको अधिवेशन, अध्यक्ष ओलीले उद्घाटन गर्ने

नेता भीम रावललाई अधिवेशनमा रोक

अत्तरिया, २० असोज : नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी प्रथम अधिवेशन आईतबार धनगढीमा हुँदैछ । अधिवेशनको तयारी पूरा भएको छ । प्रदेश कमिटीले शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी आइतबारदेखि सुरु हुने प्रथम अधिवेशनको सबै तयारी पूरा भएको जानकारी गराएको हो ।
धनगढीको शहीदगेट नजिकै रहेको सौराई स्क्वायरमा हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए । उनले अध्यक्ष ओली बिहान ८ बजे धनगढी पुग्ने कार्यक्रम रहेको जानकारी दिए ।
धनगढी विमानस्थलबाट उनलाई स्कटिङ गरेर कार्यक्रम स्थल सौराइ स्क्वायर ल्याइने छ । ओली आईतबार नै काठमाडौं फर्किने जनाइएको छ । प्रदेश अध्यक्ष भण्डारीका अनुसार उद्घाटन कार्यक्रममा महासचिव शंकर पोखरेल, केन्द्रीय कमिटी सचिव तथा कर्णाली प्रदेश इञ्चार्ज लेखराज भट्ट, केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज छबिलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापालगायत पनि सहभागी हुनेछन् ।
उद्घाटनपछि बन्द सत्र सुरु हुने छ । आइतबार साँझदेखि राजनीतिक तथा सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत र छलफलका साथै नेतृत्व चयन प्रक्रिया अगाडि बढाइने प्रदेश अध्यक्ष भण्डारीले बताए । उनले उद्घाटन समारोहमा राना थारुको कला, थारु नाच, छलिया, हुड्केलीलगायतका झाँकीहहरू प्रस्तुत गरिने जानकारी दिए । प्रदेशका ९ जिल्लाबाट अधिवेशनमा ६ सय ७५ प्रतिनिधि सहभागी हुनेछन् ।
प्रथम अधिवेशन सम्पन्न गराउनका लागि १५० जना स्यंमसेवक परिचालन गरिने जनाइएको छ । जिल्लाबाट छानिएर आएका प्रतिनिधिहरूले एमाले प्रदेशको आगामी नेतृत्व चयन गर्नेछन् । अधिवेशन सोमबार नयाँ नेतृत्व चयन गर्दै समापन हुनेछ ।
भीम रावललाई अधिवेशनमा रोक
नेकपा एमालेका पूर्व उपाध्यक्ष एवं दशौ महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन लडेका नेता भीमबहादुर रावललाई प्रदेश अधिवेशनमा आमन्त्रण नै गरिएको छैन । एमालेको प्रथम प्रदेश अधिवेशनमा नेता रावलालाई आमन्त्रण नगरिएको पाइएको हो ।
अछामका नेता रावल पछिल्लो समय पार्टीमा जिम्मेवारीविहीन छन् । चितवन महाधिवेशनपछि एमालेको राजनीतिमा किनारा लगाइएका रावल अहिले पनि पार्टीको कुनै जिम्मेवारीमा छैनन् ।
गृहजिल्ला अछाममा रहेका रावललाई प्रदेशको अधिवेशनमा पनि नबोलाइएको जनाइएको छ । त्रकार सम्मेलनकाबीच एमाले सुदूरपश्चिमका इन्चार्ज छविलाल विश्वकर्माले रावललाई आमन्त्रण नगरिएको जानकारी दिए ।
उनले रावल राष्ट्रिय र केन्द्रिय नेता भएकाले प्रदेश अधिवेशनमा नबोलाइएको दाबी गरे । एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, सचिवहरु र स्थायी कमिटी सदस्यसहितका अन्य केन्द्रिय नेताहरु भने अधिवेशनमा सहभागी हुने उनको भनाई छ ।
रावललाई अधिवेशनमा नबोलाएर निषेध गरिएको उनी निकटस्थको आरोप छ । चितवन महाधिवेशनपछि एक पटकमात्र रावललाई पार्टीमा सक्रिय बनाउन ओली–रावल भेट भएकोमा त्यसपछि कुनै छलफल भएको छैन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.