धनगढी, २२ असोज : प्यालेस्टाइन विद्रोही समूह हमासले इजरायलविरुद्ध गरेको आक्रमणमा परी केही विद्यार्थी घाइते र मृत्यु भएपछि कैलालीको टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय शोकमा डुबेको छ । शनिबार भएको विद्रोहीको आक्रमणमा परी ‘लर्न एन्ड अर्न’कार्यक्रमका लागि इजरायल गएका स्कुल अफ एग्रिकल्चरका विद्यार्थी त्यहाँ रहेको कृषि फर्ममा कार्यरत रहँदा घाइते र अन्य विद्यार्थी हताहत भएको खबरले स्कुल शोकमा डुबेको हो ।
स्कुल अफ एग्रिकल्चर कृषि विज्ञान संकायका विद्यार्थीको निधन भएपछि आज बिहान टीकापुरमा विद्यार्थीले मौन ¥याली निकालेका छन् । विभिन्न प्ले कार्ड बोकेर १ हजारभन्दा बढी विद्यार्थी मौन ¥यालीमा सहभागी भएका हुन् । उनीहरुले तत्काल इजरायलमा रहेका विद्यार्थी र नेपालीलाई उद्धार गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले ‘एक सरकार दुख्छ कि नाई रु’, ‘ ए सरकार कृषिलाई सपार्छस् कि कृषि कै नाममा मार्छस’ ,‘सरकार कहाँ छ’ जस्ता प्लेकार्ड बोकेर सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन् ।
स्कुल प्रमुख सुशील न्यौपानेले इजरायलमा भएको आक्रमणमा विद्यार्थी परेको घटनाले कृषि विज्ञान संकाय शोकमा डुबेको बताए । ‘कृषि विज्ञान संकायले आन्तरिक परीक्षा र पठनपाठन रोकेको छ’, प्रमुख न्यौपानेले भने, ‘यस्तो अवस्थामा कसरी पढाउनु ? हामी विद्यार्थीको अवस्थाको सोधीखोजीमै लागेका छौं ।’
कृषि विज्ञानतर्फ स्नातक तहको अन्तिम सेमिस्टारका ४९ जना विद्यार्थीमध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना गएका थिए। उनीहरूमध्ये १० जना छात्रा छन् । उनीहरू १० महिनाका लागि इजरायल गएको न्यौपानेले बताए । विद्यार्थीले लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत साताको १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा बस्ने उल्लेख थियो । कृषि विज्ञान संकायले कार्यक्रमअन्तर्गत पहिलोपटक विद्यार्थी पठाएको थियो ।
इजरायली राजदूत कान्ता रिजालका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायणप्रसाद न्यौपाने, बाउनिया ३ कैलालीका आशिष चौधरी, जयपृथ्वी ६ बझाङका गणेशकुमार नेपाली, लेकाम ५ दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, सपही ६ धनुषाका आनन्द शाह, मधुवन १ सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली डोटीका राजन फुलारा, लामिखाल ८ डोटीका पदम थापा पदम थापा र सारदा ३ सल्यानका प्रवेश भण्डारी रहेका छन् ।
राजदूतावासका अनुसार ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल गएकाहरूमध्ये सल्यानका प्रमोद केसी र कैलालीका वीरेन्द्र चौधरी सकुलस छन् । विद्रोहीको आक्रमणबाट चार जना घाइतेमध्ये सल्यानका विधान सेजवा र दाङका प्रविन डाँगीलाई खुट्टामा चोट लागेको छ भने कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेल अस्पतालमा सकुशल छन्। कञ्चनपुरका बिपिन जोसी भने सम्पर्कविहीन रहेको रिजालले बताइन् ।