धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय महिला भेला हुँदै

अत्तरिया, २४ असोज : सुदूरपश्चिम प्रदेशस्तरीय महिला भेला धनगढीमा हुने भएको छ । भोली बिहिबार र शुक्रबार धनगढीको शुभ श्री प्यालेसमा भेला हुन लागेको हो । भेलामा प्रदेशका ९ जिल्लाका ८८ वटै स्थानीय तहका महिला अधिकारकर्मीहरुको सहभागिता रहने भएको छ । भेलामा विभिन्न समुह बनाएर दुई दिन सम्म छलफल हुनेछ ।
महिलावादी दृष्टिकोणबाट सामाजको विश्लेषण गर्न र महिला तथा पछाडी पारिएका समुदायको विध्यमान सवाललाई सम्बोधन गर्ने क्षमता अभिवृद्धि गरी धारणागत स्पष्टताका लागि भेला हुने भएको हो ।
बुधबार धनगढीमा आयोजित पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रममा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकी अध्यक्ष श्याम शाहले मञ्च मुख्य गरी महिलाको श्रम, शरीर र पर्यावरणको सवालमा केन्द्रित हुने बताइन् ।
उनले मञ्चमा श्रम, शरीर र पर्यावरणका क्षेत्रमा भएको नियन्त्रणले महिलालाई पारेको प्रभाव, उक्त प्रभावले समाज र देशलाई कसरी कति गहिराई सम्म असर पारेको छ भन्ने विषयममा छलफल गरी शरीर मेरो नियन्त्रण कसैको, श्रमको अधिकार र पर्यावरणीय न्याय, मानवीय संकट र महिलाको नेतृत्व सवारमा प्यानल छलफल तथा सिड सम्बन्धी कार्यशाला गरिने बताइन् ।
महिलावादी मञ्चबाट प्रदेशमा निर्वाचित भएका महिला जन–प्रतिनिधीहरु र महिला मानवअधिकार रक्षकहरुमा समुदायको उत्पीडनको कारण र परिणाम बारे समान बुझाइ स्थापीत हुने अपेक्षा लिइएको जनाइएको छ । मञ्चमा पहिचान भएका सवालहरुका बारेमा निर्वाचित महिला जन प्रतिनिधिहरु बीच साझा धारणा निर्माण गरिने सञ्जालकी अध्यक्ष शाहले बताइन् ।
‘न्याय, समानता र पर्यावरणीय अधिकारको सुनिश्चितता ः सामाजिक रुपान्तरण सहितको दिगो विकासमा निश्चितता’ भन्ने नाराका साथ आयोजना हुने मञ्चका प्रमुख अतिथि प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी रहने आयोजकले जनाएको छ । मञ्चमा अतिथिका रुपमा प्रदेशका महिला संसदहरु लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । मञ्चमा छलफल पछि समापन सत्रमा घोषणा पत्र सार्वजनिक गरिने छ ।
कार्यक्रममा ओरेक नेपालकी संस्थापक अध्यक्ष डा. रेणु अधिकारीले ५ बर्ष अघि पनि सुदूरपश्चिममा महिलावादी मञ्च आयोजना गरिएको बताइन् । उनले पहिलो महिलावादी मञ्चबाट प्राप्त सुझावबाट धेरै नीतिगत सुधार भएको बताइन् । उनले संघीयता पछि पनि महिला भएकै कारण महिला अझै पछाडी नै रहेको बताइन् । उनले अहिलेको व्यवस्था परिवर्तनमा महिलाहरुको भूमिका पनि उतिकै भूमिका रहेकाले यसमा महिलाहरुले पनि समान अधिकार पाउन आवश्यक रहेको बताइन् । उनले महिलाहरुको अधिकार सुनिश्चितताका लागि नै महिलावादी मञ्च बनेको बताइन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.