बाजुराको अर्गानिक स्याउ अनुदानमा धनगढी पुग्यो

अत्तरिया, २५ असोज : बाजुराको अर्गानिक स्याउ धनगढी पुगेको छ । बिहीबार धनगढी बसपार्कबाट बाजुराको स्याउको बिक्री सुरू भएको हो ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उत्पादन भएको स्याउ स्थानीय तह र कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदानमा धनगढी ल्याइएको हो । गाउँपालिका र कृषि ज्ञान केन्द्र बाजुराको ४०\४० प्रतिशत र फ्यूचर स्याउ कृषक समूहको २० प्रतिशत ढुवानी अनुदानमा किसानको स्याउ धनगढी पुगाइएको फ्यूचर स्याउ कृषि समूहका अध्यक्ष धनबहादुर रोकायाले बताए ।
बाजुरामा ३७० हेक्टरमा स्याउ खेती गरिएको छ । यो वर्ष २० मेट्रिकटन स्याउ धनगढी पुगाउने लक्ष्य राखिएको छ । यो वर्ष बाजुरामा एक हजार १३७ मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । बाजुरामा प्रति हेक्टर ६ दशमलव ५ मेट्रिकटन स्याउ उत्पादन हुने गरेको छ ।
बाजुराका किसानको स्याउको बजारीकरणमा स्वामीकार्तिक खापर गाउँपालिका, कृषि ज्ञान केन्द्र बाजुरा, जिआइजेटरएलपिइडी र ग्रीप परियोजनाको पनि आर्थिक सहयोग रहेको कृषक समूहका अध्यक्ष धनबहादुर रोकायाले बताए । बाजुराको स्याउ धनगढी ल्याउन कर्णाली प्रदेशको दैलेख, सुर्खेत हुँदै लुम्बिनी प्रदेशको बाँके र बर्दिया भएर कैलाली पुग्नु परेको किसान कर्ण रोकायाले बताए । गाउँपालिकासम्म ट्रक चल्ने सडक नभएकाले कर्णाली प्रदेश हुँदै धनगढी पुग्नु परेको रोकायाले बताए। स्तरीय सडक नहुँदा ग्रामीण क्षेत्रको कृषि उपजको बजारीकरणमा समस्य भएको रोकायाले बताए ।
बिहीबार बिहानबाट नै बाजुराको स्याउको बिक्री सुरु भएको छ । अर्गानिक स्याउको मूल्य प्रति किलोग्राम १३० रुपैयाँका तोकिएको छ । बाजुराको स्याउको बजारीकरणमा प्रदेश सरकारको सहयोग रहने कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले बताए । उनले कृषिबाट आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेकाले कृषि उपजको उत्पादन र बजारीकरणमा सहयोग रहने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.