अत्तरिया कृषि सहकारीको वार्षीक साधारणसभा सम्पन्न

अत्तरिया, २६ असोज : गोदावरी नगरपालिका–१ अत्तरियामा रहेको अत्तरिया कृषि सहकारी संस्था लिमिटेडको वार्षीक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार संस्थाको ८ औं साधारण सभा अत्तरियाको प्रतिभा सामुदायिक पुस्तकालयको सभा हलमा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष विक्रम विश्वकर्माको अध्यक्षता आयोजित साधारण सभाको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री झपटबहादुर साउद रहेका थिए । यस्तै विशिष्ट अतिथिमा गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्यराज जोशी थिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपडबहादुर साउदले सहकारी बैंकको आफ्नै नीति नियम, ऐन कानुन रहेको बताउदै उनले उक्त नियम अनुसार सहकारीहरु सञ्चालन भएकाले राम्रो प्रगति गरिरहेको बताए । ‘पछिल्लो समयमा केही सहकारीहरुले पैसा खाएर भागे भनेर जुन नकारात्मक कुराहरु आईरहेका छन्’, उनले भने । ‘ति विषयहरुमा सचेत रहनुपर्ने छ ।’ उनले सबै किसानहरु भएको नाताले कृषि सहकारीको स्थापना भएको बताउदँै गाउगाउमा सहकारी घरघरमा भकारी भन्ने नारा अनुसार कृषि सहकारीले किसानहरुलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेको बताए । उनले पछिल्लो समयमा तरकारीहरुमा बिषाधी औषधीका कारण स्वास्थ्यमा असर पर्दै गईरहेका कारणले आफ्नै बारीमा उत्पादन गरेर अर्गानिक खानेकुरा खान पनि सबैलाई अनुरोध गरे ।
संस्थाको वार्षीक प्रतिवेदन प्रस्तुत अध्यक्ष विक्रम विश्वकर्माले गरेसंगै उनले २०७३ साल बाट ३३ जना शेयर सदस्यहरु मिलेर ५ लाख ४० हजार रुपैयाँको कारोबारबाट सुरुवात गरेको यस सहकारी मा ७ वर्ष पार गर्दै जाँदा ६ करोड बराबरको कारोवार गर्न सफल भएको उनले बताए । उनले विगत केही बर्षदेखि पुरै राज्य आर्थिक संकटको चपेटमा परेको वेला वित्तीय कारोबार गर्ने हाम्रो संस्थामा पनि प्रत्यक्ष असर पर्ने स्वाभाविक हुँदाहुँदै पनि संस्थाले सदस्यहरूलाई सेवा प्रदान गर्न कुनै कमी नगरेको बताए ।
यस संस्थाले थप १ सय ६८ जना सहित जम्मा २ सय ८० जना शेयर सदस्यहरु लाई ४ करोड ८९ लाख ४५ हजार रुपैयाँ बराबरको कर्जा लगानी गरेको समेत उनले जानकारी दिए । यस्तै संस्थाको वार्षीक प्रगति प्रतिवेदन आयब्यय प्रस्तुत संस्थाकी प्रबन्धक सक्रान्ति भट्टले गरेकी थिईन् । उनले संस्थाले आर्थिक वर्ष २०७९\८० मा ५ करोड ६४ लाख ४८ हजार बराबरको आर्थिक कारोबार गरेको र उक्त कारोबार बाट २४ लाख १६ हजार ८ सय ९२ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको बताईन् ।
संस्थाको जगेडा कोषमा ६० लाख ९३ हजार रकम रहेको साथै ४ करोड ८९ लाख ४५ हजार रकम बराबरको ऋणमा लगानीमा गरेको बताईन् । उनले संस्थाको बचत तर्फ ३ करोड २४ लाख ९१ हजार रकम निक्षेप संकलन गरेको बताइन् ।
संस्थाको आ व २०७९\०८० मसान्त सम्ममा ७२ लाख १२ हजार ३ सय रहेको शेयर पुँजीमा हाल ९ सय १७ जना शेयर सदस्यहरु रहेसंगै आगामी आ व २०८०\०८१ मा १ हजार शेयर सदस्यहरु बनाउने लक्ष्य लिएको प्रबन्धक भट्टले बताइन् । संस्थाका सल्लाहकार समिति संयोजक हरिकृष्ण पाण्डेयको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाकी सञ्चालक समिति सचिव भगराथिकुमारी बडुले गरेकी थिईन् । यस्तै कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारी प्रतिनिधिहरुको अतिथिमा सहभागी रहेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.