अत्तरिया : धनगढी उपमहानगरपालिका ‘स्मार्ट’ सडक बत्ती जडान क्षेत्र बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत तेस्रो चरणको ‘स्मार्ट’ सडक बत्ती जडान गरेर (विहिबार) बत्ती बाल्ने कामको सुरुवात गरेको हो । बिहिबार एकै दिन क्याम्पस चोक देखि मनेहरा सडक पनि स्मार्ट सडक बत्ती बालेको हो ।
८ मिटर स्टील ट्युबलर पोलमा दुई सय १२ थान, १२० वाट लाइन चार सय ३२ थान जडान गरेर बत्ती बाल्ने काम भएको हो । तेस्रो चरणको बत्ती उद्घाटन धनगढी चौराहदेखि भन्सारसम्म सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र क्याम्पस रोडमा जडान गरिएको बत्तीको द्घाटन उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामीले उद्घाटन गरेका हुन् । हुलाकी सडकमा बत्ती जोडिएसंगै राति पनि झिलिमिले बन्ने भएको छ । यसले गर्दा धनगढीसंगै जोडिएको फूलबारी आवतजावत गर्ने सहज हुने छ ।
धनगढी उपमहानगरपालिकाको ६० तथा नेपाल विद्युत प्राधिकरण राष्ट्रिय सडक बत्ती प्रबद्र्धन आयोजनाको ४० प्रतिशत लागत साझेदारीमा दुई करोड ६१ लाख ७५ हजार ४६ रुपैयाँ धनगढी र एक करोड ७ लाख ८३ हजार तीन सय ६४ रुपैयाँ प्राधिकरणको गरी धनगढीमा ६ दशमलव ६ किलोमिटरमा स्मार्ट स्ट्रिट लाइट जडान गरिएको थियो ।

त्यस्तै १६ मिटर उचाईमा धनगढीमा १५ थान हाइ माष्ट लाइट समेत उपमहानगरको ९७ लाख ४९ हजार ६ सय ४० रुपैयाँको एकल लगानीमा जडान भएर धनगढीलाई उज्यालो बनाउने काम भएको हो । त्यस्तै स्मार्ट सडक बत्ती तथा हाइमाष्ट र मिनी माष्ट लाइट जडान उज्यालो धनगढी कार्यक्रम अन्तर्गत उपमहानगर र प्राधिकरणसँगको तेस्रो चरणको सडक बत्ती जडान गर्न २०८० असार १३ गते सम्झौता भएको थियो ।
सम्झौता अनुसार उपमहानगरको ७० तथा प्राधिकरणको ३० प्रतिशत लागत सहभागिता रहने गरी उक्त कार्यक्रम सञ्चालन भएको थियो । चार करोड ८७ लाख ५९ हजार पाँच सय ९७ रुपैयाँ २५ पैसा अनुमान गरिएको छ । यसका लागि धनगढीले ७० प्रतिशत रकमको ५० प्रतिशत रकमले हुन आउने एक करोड ७० लाख ६५ हजार ८ सय ४५ रुपैयाँ नेपाल विद्युत प्राधिकरण (राष्ट्रिय सडक बत्ती प्रबद्र्धन) कार्यक्रमलाई पठाइएको उपमहानगरले जनाएको छ ।
उपमहानगरपालिकाले पहिलो चरण अन्तर्गत स्मार्ट स्ट्रिट लाइट धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रमा यसअघि नै बालिसकेको छ ।