धनगढीमा दसैं र तिहारमा फूलको अभाव नहुने

धनगढी : धनगढीमा यो वर्ष दसैं र तिहारमा फूलको अभाव नहुने भएको छ । धनगढीका किसान फूल खेतीमा लागेपछि फूल आयात गर्नुपर्ने बाध्यता हट्ने भएको हो । यो वर्ष स्थानीय किसानको उत्पादनले धनगढीमा सयपत्री फूलको अभाव हट्ने भएको हो । फूल उत्पादनमा धनगढीलाई आत्मनिर्भर बनाउने योजना उपमहानगरको छ ।

उपमहानगरको योजना अनुसार दुई दर्जन बढी किसानले फूल खेती सुरु गरेका छन् । उत्पादित फूलको बजारीकरण गर्न उपमहानगरले सहयोग गर्ने भएपछि किसानहरूले अर्को वर्षबाट दोब्बर क्षेत्रफलमा पुष्पखेती गर्ने भएका छन् ।

अर्को वर्षबाट दुई बिघा जग्गामा फूलखेती गर्ने धनगढी १२ जुगेडाका प्रतापसिंह बिष्टले बताए। ‘यो वर्ष दुई कट्ठामा मात्रै फूल खेती गरेको छु । यो बजारको माग र उत्पादन हेरेर अर्को वर्ष क्षेत्रफल बढाउने योजना छ। अर्को वर्ष सिधै दुई बिघामा फूल खेती गर्छु,’ बिष्टले भने । धनगढी ६ मटियारीमा सुशीला बिष्ट र शंकरसिंह बिष्टले यो वर्ष डेढ बिघा जग्गामा पुष्पखेती गरेका छन् ।
धनगढी उपमहानगरपालिकाले पुष्पखेती सम्बन्धी तालिम लिएका बिष्ट दम्पतीले डेढ बिघा जग्गामा मखमली र सयपत्री फूल रोपेका छन् । यो वर्ष दश टन फूल उत्पादन गर्ने लक्ष्य राखेका बिष्ट दम्पती बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गर्ने भएपछि थप उत्साहित छन् ।

धनगढी उपमहानगरपालिकाले गएको जेठमा २६ जना किसानलाई पुष्पखेती सम्बन्धी एक हप्ते तालिम दिएको थियो । तालिम लिएका सबैले दुई कट्ठादेखि डेढ बिघा जग्गामा पुष्पखेती सुरु गरेका छन् । धनगढी–१२ जुगेडा डी गाउँकी आशा पन्त मिश्र गत वर्षबाट फूल खेती गर्न थालेकी हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.