अत्तरिया : कैलाली च्याम्बर अफ कमर्सले प्रदेशका ९ वटै जिल्लाका पर्यटकीय क्षेत्र समेटिएको ‘माई ट्राभल डायरी’ को विमोचन गरिएकोछ । शनिबार अत्तरियामा आयोजित एक कार्यक्रमका बीच प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले ट्राभल डायरीको विमोचन गरेका हुन ।
ट्राभल डायरीमा सुदूरपश्चिमका नौ वटै जिल्लाका पर्यटन क्षेत्रहरूको फोटो सहित विभिन्न जानकारी समेटिएको कैलाली च्याम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले बताए । उनले सुदूरपश्चिम घुम्न चाहनेका लागि च्याम्बरको तर्फबाट ट्राभल डायरी कोशेलीको रुपमा वितरण गरिने बताए ।
ट्राभल डायरीको पहिलो कबर पृष्ठमा कैलालीबाट कर्णाली, डोटीबाट खप्तड, अछामबाट रामारोशन, बझाङबाट सैपाल, बाजुराबाट वनक्षेत्र, कञ्चनपुरबाट शुक्लाफाँटा, डडेल्धुराबाट अमरगढी किल्ला, बैतडीबाट रैलेश्वरकेदार र दार्चुलाबाट अपिहिमालका तस्बिर राखिएका छन । त्यस्तै ट्राभल डायरीको अन्तिम कबर पृष्ठमा सुदूरपश्चिमका धार्मिक पर्यटकीय क्षेत्र राखिएको छ । डायरी भित्रको पहिलो पानामा धनगढीबाट सुदूरपश्चिमका कुनकुन पर्यटकीय क्षेत्रमा पुग्नका लागि कति किलोमिटर यात्रा गर्नुपर्छ, सुदूरपश्चिमको जनसंख्या, सुदूरपश्चिमको भूगोलको जानकारी लगायतका सामग्री समेटिएको छ । त्यसपछिका पानामा हरेक जिल्लाका पर्यटकीय क्षेत्रका तस्बिर राखेर बीचमा टिपोट गर्न सहज होस भन्नका लागि ५\५ पाना खाली छोडिएको छ ।
कैलाली च्याम्बर अफ कमर्सका अध्यक्ष मल्लले सुदूरपश्चिम प्रदेश घुम्ने पर्यटकको सहजताका लागि ट्राभल डायरी सँगै सुपआईडल ब्रान्ड डटकम वेबसाइट पनि तयार पारिएको बताए । उनले वेबसाइटमा सुदूरपश्चिमका उत्पादन, होटल, एम्बुलेन्स नम्बर, साहित्यिक सामग्री, उद्धारका जानकारी पनि समेटिएको बताए ।