कञ्चनपुरमा प्लाष्टिकजन्य मालामा प्रतिबन्ध

कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्लाष्टिक मालामा रोक लगाएको छ। प्लाष्टिकजन्य फूलगुच्छा तथा माला र ४० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक झोला प्रयोग तथा बिक्री वितरणमा प्रशासनले रोक लगाएको हो।

दीपावली, नेपाल संवत् तथा छठ पर्वलगायतका चाडपर्व, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लाष्टिक फूलगुच्छा तथा मालाको प्रयोग अधिक हुने भएकाले त्यसमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए। उनका अनुसार पछिल्लो समय चाडबाड, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लाष्टिकजन्य फूलगुच्छा, मालालगायतका सामग्रीको प्रयोगले वातावरण प्रदूषणका साथै स्थानीय किसानबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशि बाहिरिने गरेको छ।

सरकारले २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरेर नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न रोक लगाएको छ। प्लाष्टिकजन्य फूलगुच्छा, माला तथा ४० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक झोलालगायतका सामग्रीको बिक्री, वितरण नगर्न प्रशासनले आग्रह गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.