अमेरिका प्रवासमा रहेका क्षेत्री प्यारातालको पर्यटन विकासका लागि स्तम्भ निर्माण गर्दै

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास सदाबहार जलाशय प्यारातालको पहिचान झल्काउदै पर्यटन प्रबर्द्धनका लागि अमेरिकाको प्रवासमा रहेका रमेश क्षेत्रीले ताल परिसरमा ओद (पानी बिरालो) को स्तम्भ निर्माण गरिदिन भएका छन् ।
अमेरिकाको बाल्टिमोर मेरिल्याण्डमा प्रवासमा रहेका रमेश क्षेत्रीले तालको पर्यटन विकासमा सहयोग पुगाउन ओद (Otter) को स्तम्भ निर्माण गर्न लागेको प्याराताल पर्यटन प्रबर्द्धन तथा संरक्षण समितिका संयोजक दीपेन्द्र बस्नेतले जानकारी दिए।
मातृभुमिको विकास निर्माणका लागि आफू प्रवासमा रहेर यस अघिदेखि सहयोग गर्दै आएका क्षेत्रीले प्यारातालको जैविक पहिचानलाई उजागर गरि पर्यटन विकासको नागरिक अभियानलाई सघाउन पाउँदा हर्ष लागेको रमेश क्षेत्रीले बताए ।
तालको संरक्षण, प्रचारप्रसार गरि पर्यटन विकासको जिम्मेवार सरकारी निकायहरुको बेवास्ताका कारण ओझेलमा परेको प्यारातालको जैविक विविधता झल्किने स्तम्भहरु निर्माण गर्दै पर्यटन प्रबर्द्धनका लागि नागरिक स्तरबाट अभियान सुरु गरिएको छ ।

प्यारातालको जैविक पहिचानलाई उजागर गरि पर्यटन विकासका लागि पहिलो पटक सुरु गरिएको नागरिक अभियान बाट प्राप्त सहयोगमा हालसम्म ताल परिसरमा माछाको स्तम्भ र सेल्फी स्पोट निर्माणको काम सम्पन्न भइ सकेको र विश्वमै दुर्लभ जलचर प्राणी ओद (Otter) र कछुवाको स्तम्भ निर्माणको काम सुरु गरिएको प्याराताल पर्यटन प्रबर्द्धन तथा संरक्षण समितिका संयोजक बस्नेतले बताए।

तालको पर्यटन विकासका लागि नागरिकस्तरबाट गत असार अन्तिमदेखि सुरु गरिएको अभियानलाई सघाउन सोमबहादुर मगर दम्पतीले आफ्नो दिवंगत छोरीको स्मृतिमा सेल्फी स्पोट निर्माण सम्पन्न गरेका छन । यसरीनै समाजसेवी प्रेमबहादुर थापाले आफ्नो छोराको स्मृतिमा कछुवाको स्तम्भ र रमेश क्षेत्रीले ओदको स्तम्भ निर्माणको काम सुरु गरेका छन् ।

झण्डै साढे ४ किमि लम्बाइमा रहेको ताल जैविक हिसाबले महत्वपूर्ण रहँदा रहदै पनि सरोकारवाला निकायहरुको उदासिनताका कारण ओझेलमा पर्दै आएको छ । अहिले तालको जैविक महत्वलाई उजागर गर्दै पर्यटन विकासमा थोरै भए पनि देखिने गरि केही काम गरौं भनेर नागरिकस्तरबाट अभियानको थालनी गरिएको प्याराताल पर्यटन प्रबर्द्धन तथा संरक्षण समितिका सचिव प्रेमप्रसाद जैसीले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.