सुदूरपश्चिमबाट सुरु भएको एमालेको पदयात्रामा भिम रावलको अनुपस्थिति

अत्तरिया : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावकै झल्को दिने गरी मध्यपहाडी लोकमार्गको महाकाली मेची यात्रामा निस्किएका छन् । बिहीबार बिहान बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर यात्रा सुरु गरेका ओली अहिले सुदूरपश्चिममा व्यस्त छन् ।

उनी कतिबेला मन्दिर दर्शन पुगिरहेका छन् त कतिबेला आमसभा सम्बोधन गर्न । ओलीले सम्बोधन गर्ने आमसभामा कार्यकर्ताको उपस्थिती बाक्लो छ । ठाउँ ठाउँमा स्वागत गरिरहेका छन्, कार्यकर्ता ।

झण्डा, ब्यानरले सुदूर पहाड रङ्गिचङ्गी छ । तामझामसहित एमालेले थालेको यात्रामा पार्टी प्रवेश गर्नेलाई स्वागत गर्न ओलाई भ्याई नभ्याई छ । यसले एमालेजनमा उत्साह छाएको छ । गृहप्रदेशमै पार्टीको कार्यक्रममा नेता डा. भीम रावल भने सहभागी छैनन् । जसले एमालेकै एक पङ्क्तिमा असन्तुष्टि छ । रावलनिकट नेता कार्यकर्ता निराश छन् । पदयात्राको टोली मंसिर १६ गते रावलको गृहजिल्ला अछाम पुग्ने कार्यतालिका छ । मंगलसेनमा आमसभा राखिएको छ । ओलीसहितको टोली त्यो राति अछाममै बिताउनेछ । अछाममा रावलनिकट एमाले कार्यकर्ता रनभुल्ल छन् ।
‘पार्टीको यति ठूलो कार्यक्रममा रावल कमरेडलाई पनि सहभागी गराउनुपथ्र्यो । नेतृत्वले त्यो नगर्दा नराम्रो लागेको छ,’ रावलनिकट अछामका एक नेताले भने, ‘अभियानको जुन उत्साह उमंग हुनुपर्ने हो त्यो देखिँदैन । मन खिन्न बनाएर कार्यक्रममा जानुपर्ला ।’

भीम रावल समर्थकले विरोधको कार्यक्रम गर्नसक्ने आकलन गरिएको छ । एमालेमा उपेक्षामा परेका रावलले चुनावमा अछामबाट टिकट नपाउँदा उनका समर्थकले ओलीविरुद्ध नाराबाजी गर्दै कालोझण्डा नै देखाएका थिए । ग्रासरुटका अभियानका बेला रावल समर्थकले अछाममा एमालेका उपाध्यक्ष विष्णु पौडेलको कार्यक्रम बिथोलेका थिए । अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेपछि उपेक्षामा परेका रावल अहिले एमालेमा सक्रिय छैनन् ।

उनी हाल संघीय राजधानी काठमाडौँमा छन् । मेची महाकाली यात्राअन्तर्गत सुदूरपश्चिमको यात्रा अवधिभर रावल त्यहीँ रहनेछन् । मंसिरको अन्तिम साता रावल अछाम आउन सक्ने उनी निकट नेताहरु बताउँछन् । नेता रावलले पदयात्राको लागि आफूलाई निम्ता नगरिएकोले सहभागी नहुने सामाजिक सञ्जाल एक्समा केहीदिनअघि उल्लेख गरेका थिए । एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले निमन्त्रणाका लागि रावलसँग टेलिफोन सम्पर्क गरेका थिए । रावलले अध्यक्ष ओलीले निम्तो गरे आफू कार्यक्रममा सहभागी हुने सन्देश पठाएका थिए ।

बैतडीको झुलाघाटबाट सुरु भएको महाकाली मेची यात्राको टोली आज डडेल्धुरा पुगेकोछ । एमाले नेता दामोदर भण्डारीले राष्ट्रिय कार्यक्रम भएकाले सहभागितामा लागि कसैलाई रोक नलगाइएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.