जिवनज्योति महिला सहकारी संस्था वार्षिक साधारणसभा सम्पन्न

अत्तरिया, २८ मंसिर : गोदावरी नगरपालिका–२ अत्तरियामा स्थित जिवन ज्योति महिला बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार संस्थाले एकीकरण पश्चातको प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको हो । नगरपालिकामा रहेको प्रगति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था बीच एकीकरण भए पश्चात् यस संस्थाले पहिलो साधारण सभा सम्पन्न गरेको हो ।
सस्थाका अध्यक्ष पुनम कार्कीको अध्यक्षता सम्पन्न साधारण सभामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटा रहेकी थिईन ।
प्रदेशसभा सदस्य देवकोटाले कार्यक्रममा महिलाहरुले एकरुपताका साथ अगाडि बढी हातेमालो गरेर काम गरेमा संस्था लगायत जुनसुकै स्थानमा अवश्यपनि सफलता मिल्ने बताईन् । उनले सहकार्य गर्नका लागि एक आपसमा विश्वास हुनुपर्ने बताउदै विश्वज्योती सहकारीका महिलाहरुले पनि ठुलो सफलता हासिल गरेको बताईन् । सरकारले गर्न नसकेको काम सहकारीले गरिरहेको उनको भनाई छ । सहकारीमा आवद्ध महिलाहरुलाई सहकारीले जस्तै सरकारले पनि सहयोग गरेको भए । उनीहरुको जिविको पार्जनमा अझै सहज हुने सांसद देवकोटाले बताईन् ।
यस्तै संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पुनम कार्कीले संस्थाले एकिकरण पछिको प्रथम बर्षमा प्रवेश गर्दै गर्दा समूदायमा आधारित गुणस्तरिय प्रविधियुक्त दिगो वित्तिय सहकारी तथा सहकारीको मूल्य मान्यता र सिद्धान्तको परिपालना गरी जिम्मेवार संचालक दक्ष जनशक्ति र नविनतम प्रविधिको प्रयोग मार्फत वित्तिय तथा गैरवित्तिय तालिम, शिक्षा, परामर्श, मल विक्री, जैविक प्याड उत्पाद शुपथ मुल्य पसल र पलास्टिक झोला विस्थापित गरी बाताबरण मैत्रि कपडाको झोला उत्पादन गर्दै आइरहेको बताईन ।
उनले सहकारी बाट विभिन्न सेवा उपलब्ध गराई सदस्यहरूको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने अभियानका साथ संस्थाका गतिविधिहरू संचालन गरी सहकारीको दिगो विकासमा टेवा पुगाउँदै आइरहेको बताईन् । साथै सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षमा मात्र नभएर वित्तिय साक्षरता, स्वास्थ्य साक्षरता र प्रविधि साक्षरताका सवालमा समेत महत्वपूर्ण अभियानहरू संचालन गरीरहेको बताईन् ।
उनले सहकारीमा सदस्य मैत्री सेवा, सेवाग्राहीको हित साथमा सरल र सहज ढंगले ऋण लगानी गर्दै आधुनिक तथा प्रविधियुक्त वित्तिय क्षेत्रको विकासमा निरन्तरताका साथ अझै गुणस्तरिय एवम् प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । सभामा आय–व्यय प्रगती प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०७९\०८० मसान्तमा २५ करोड १० लाख ५४ हजार बराबरको आर्थिक कारोबार गरेको उल्लेख गरिएको छ । संस्थाले उक्त कारोबारबाट ८२ लाख ६९ हजार १ सय ६७ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । यस्तै संस्थाको निक्षेपतर्फ गत वर्षको भन्दा ४० प्रतिशतले वृद्धि भएर १७ करोड ६७ लाख २१ हजार रकम बराबरको बचत संकलन गरेको छ भने १८ करोड ७९ लाख बराबरको रकम कर्जामा लगानी गरेको जुन गत वर्षको भन्दा ४१.४२ प्रतिशतले वृद्धि भएको र जगेडा कोषमा २ करोड ५६ लाख ८५ हजार रकम भएको प्रतिवेदनमा उल्लेखित छ ।
हालसम्म ३ हजार ६७ जना शेयर सदस्यहरु रहेका यस सस्थाको कुल जम्मा ३ करोड ४ लाख १३ हजार शेयर पूँजी रहेको छ । साथै संस्थामा आगामी आ व २०८०\०८१ मा हालको भन्दा शेयर पूँजीमा ५१ लाख र ४ सय जना शेयर सदस्यहरु वृद्धि गर्ने योजना प्रक्षेपण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साधारण सभामा विशिष्ठ अतिथि गोदावरी नगरपालिका उप प्रमुख शारदा देवी रोकाया, कैलाली जिल्ला सहकारी संघका कोषाध्यक्ष जय प्रकाश न्यौपाने रहेका थिए भने अतिथिमा सुदूरपश्चिम प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय धनगढी कैलालीका प्रतिनिधि देवराज पन्त, गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्य राज जोशी रहेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारी प्रतिनिधिहरुको अतिथिमा सहभागी रहेका थिए ।

एकिकरण पश्चात कारोबार र नाफामा वृद्धि

दुई महिला सहकारीबिच एकिकरण भएपश्चात संस्थाको वार्षिक कारोबार र नाफा दुवैमा वृद्धि आएको छ । गत वर्ष १७ करोड ६७ लाख ३१ हजार ६० रुपैयाको कारोबार गरेको संस्थाले आर्थिक वर्ष २०७९\०८० मा भने २५ करोड १० लाख ५४ हजार ४७ रुपैया बराबरको कारोबार गरेको छ ।

यसैगरी संस्थाले खुद मुनाफा पनि करिब २१ लाख बढी आर्जन गरेको छ । गत वर्ष ६१ लाख ६३ हजार ८४९ रुपैया खुद मुनाफा रहेको संस्थाको आर्थिक वर्ष २०७९ को मुनाफा रकम बढेर ८२ लाख ६९ हजार १६७ पुगेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
अध्यक्षमा कार्कि
संस्था एकिकरण पश्चातको साधारण सभाबाट पुनम कार्किको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । यसअघि तदर्थ समितिको अध्यक्षमा पनि पुनम कार्कि नै चयन भएकी थिईन । साधारण सभाले कार्किलाई नै आगामी कार्यकालका लागी अध्यक्षमा चयन गरेको हो । सभाबाट तदर्थ समितिका प्रायजसो सबै अनुहारहरु आगामी कार्यकालका लागि समितिमा चयन भएका छन ।
संस्थाको उपाध्यक्षमा डम्मरी कुँवर, सचिवमा मनिषा बोहरा र कोषाध्यक्षमा रेनुका बि।क चयन भएका छन । यसैगरी सदस्यहरुमा बसन्ती अधिकारी, महेश्वरी खत्री, मनु चौधरी, सानु बि।क, भागरथी रोकाया, बन्दना बिष्ट, दिपिका भट्टराई, लक्ष्मी भट्ट र बिमला सेराला चयन भएका छन । सभाले लेखा तथा सुपरिवेक्षण समितिमा भने उलटफेर गरेको छ । समितिको संयोजकमा यसअघि सदस्य रहेकी शारदा सुवेदी चयन भएकी छन भने सदस्यहरुमा बेलमती खत्री र चन्द्रावती जोशी चयन भएका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.