सृजनशिल सहकारी संस्थाको साधारण सभा सम्पन्न

२३ करोड भन्दा बढी कारोबार, ८८ लाख नाफा

अत्तरिया, २९ मंसिर : गोदावरी नगपालिका ८ जमुनानगरमा रहेको सृजनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
हप्ता दिन अघिदेखि सुरु भएको विभिन्न स्थानहरूमा चरणबद्ध रूपले वार्ड इकाई भेला गरी सदस्यहरु सहभागी गराउदै आएको संस्थाले शुक्रबार औपचारिक कार्यक्रम आयोजना गरी आफ्नै प्राङ्गणमा २० औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाकी अध्यक्ष भावना खड्काको सभापतित्वमा सम्पन्न सभामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेस सांसद दीर्घराज सोडारी रहेका थिए । उद्घाटन पश्चात् सभामा बोल्दै मन्त्री सोडारीले सहकारीको माध्यमले महिलाहरुमा एकरुपता आएको साथै महिलाहरु परिश्रमी मात्रै नभई नेतृत्वकर्ता पनि हुन्छन भन्ने कुरा यस सृजनशिल सहकारी संस्थाले देखाएको बताए । ‘संस्थालाई राम्रोसँग सञ्चालन गर्न सक्छन भन्ने कुरा पनि यस सृजनशिल सहकारीले देखाएको छ’, उनले भने ।
उनले गत आर्थिक वर्षमा आफुले सहकारी संस्थाको भवनको विषयमा बोलेको र त्यसका लागि आफु लागिरहेको बताए । ‘अहिले सांसद विकास कोषको रकम पाउन सकिएको छैन, जसका कारण मैले बोलेको कुरा हुन पाएको छैन’ उनले भने ‘तर त्यसका लागि म कटिबद्ध छु, आगामी दिनमा अझै सशक्त रुपमा लाग्नेछु ।’ उनले सहकारीले महिलाहरुलाई आत्मनिर्भर बनाईरहेकाले महिला सहकारीका लागि आफ्नो क्षेत्रबाट हुने सहयोगका लागि आफु अग्रसर रहेको बताए ।
संस्थाकी अध्यक्ष भावना खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय सहकारी बैंक धनगढीबाट उत्कृष्ट कारोवारबाट सम्मानित यस संस्थाले आर्थिक मात्र नभई विभिन्न सामाजिक कार्यहरूमा समेत सदस्यहरूलाई सेवा उपलब्ध गराउँदै आइरहेको बताइन् । संस्थाले सामाजिक क्रियाकलापमा निशुल्क महिला प्रजनन स्वास्थ्य जांच शिविर संचालन गरेको जसले गर्दा न्यून परिस्थिति भएका १ सय ६ जना महिलाहरुलाई राहत पुगेको बताईन् ।
यस्तै संस्थाले कृषिलाई मध्यनजर गर्दै कृषि सामग्री वितरण संगै १ सय ६६ कृषकहरुलाई सहूलियत दरमा धानको विउँ वितरण गरिएको उनले बताइन् । अध्यक्ष खड्काले आगामी वर्षमा आफ्ना शेयर सदस्यहरुको बाट उप्तादित कृषि जन्य वस्तुहरू संकलन गरी बजारमा विस्तार गर्ने बताईन् । संस्थाले आगामी दिनहरूमा आफ्ना सदस्यहरुको सहजताका लागि थप सेवा उपलब्ध गराउने साथै विभिन्न सामाजिक क्रियाकलापहरु सञ्चालन गर्ने प्रतिबद्धता समेत गरे ।
संस्थाको विभिन्न कारोवारमा वृद्धि
गत वर्षको भन्दा सहकारीले आफ्ना आर्थिकदेखि लिएर सामाजिक क्रियाकलापहरुमा वृद्धि गरेको छ । वार्षिक प्रगति प्रतिवेदन संस्थाकी सचिव मञ्जु चौधरीले प्रस्तुत गरेकी थिईन् ।
प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव मञ्जु चौधरीले यस अर्थिक वर्ष संस्थाले २३ करोड ७३ लाख २ हजार रकम बराबरको कारोबार गरेसंगै ८८ लाख ९८ हजार रुपैयाँ बराबरको मुनाफा आर्जन गर्न सफल भएको बताइन् । उनले आज भन्दा १९ वर्ष अगाडि ४५ जना दिदीबहिनी मिलेर प्रति सदस्य ५ रुपैयाँ बचत संकलन गरी ४ हजार ५ सय शेयर पूँजी बाट सुरु गरेको यस संस्थामा हाल आ व २०७९\०८० मा आइपुग्दा २ करोड ८७ लाख ३९ हजार ७ सय शेयर पूँजी रहेको र जम्मा ३ हजार ११ जना शेयर सदस्यहरु आबद्ध रहेको बताईन् । उनले संस्थाको निक्षेप तर्फ १४ करोड ५९ लाख ९६ हजार बचत संकलन भएको र २० करोड ३१ लाख २५ हजार बराबरको रकम कर्जामा लगानी गरेको बताइन् । यस्तै सस्थाको जगेडा कोषमा १ करोड १७ लाख ५९ हजार बराबरको रकम रहेको बताईन ।
महिलाहरूले नेतृत्व गरेको २०५८ सालमा स्थापना भएको यस संस्थाले गोदावरी नगरपालिका भित्र रहेका १ देखि १२ न वडाहरुमा आफ्ना सदस्यहरुलाई सेवा उपलब्ध गराउँदै आइरहेको साथै नगरपालिकाको एकदमै दुर्गम क्षेत्रमा रहेका सदस्यहरूलाई समेत उचित सेवा प्रदान गर्दै आइरहेको छ ।
संस्थाले आगामी आर्थिक वर्ष २०८०\०८१ मा ३ करोड भन्दा बढी शेयर पुँजी र ३ हजार ९ सय भन्दा बढी शेयर सदस्यहरु बनाउने लक्ष्य लिएको संगै सस्थाको विभिन्न प्रगतिमा वृद्धि गर्ने उद्देश्य लिएको छ । सहकारीले विभिन्न क्षेत्रमा सर्वाेत्कृष्ट कार्य गर्ने महिलाहरुलाई सम्मानित गरेको छ । सहकारीले सहकारीमा आवद्ध शेयरसदस्यहरु लगायत सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरिरहेका महिलाहरुलाई पनि सम्मानित गरेको थियो ।
संस्थाकी उपाध्यक्ष रजनी देवी चौधरीको स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक गौरी चौधरीले गरेकी थिईन् । साथै साधारण सभामा विभिन्न संघ संस्थाका पदाधिकारी प्रतिनिधि, समाजसेवी, बुद्धिजीवि व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.