धनगढीको जग्गा प्लटिङको रिटमा कारण देखाउ आदेश जारी

अत्तरिया : धनगढी उपमहानगरपालिकाले ल्याएको जग्गा प्लटिङ सम्बन्धी कार्यविधीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

८ पुसमा कैलाली जग्गा तथा आवास विकास संघका अध्यक्ष उपेन्द्रप्रसाद अवस्थीले दायर गरेको रिटमा प्रारम्भिक सुनवाइ गर्दै सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलाशले अन्तरिम आदेश दिन अस्वीकार गर्दै उपमहानगरपालिकाका नाममा कारण देखाउ आदेश जारी गरेको उपमहानगरपालिकाका कानुनी सल्लाहकार बिरबहादुर जेठाराले जानकारी दिए।

उनका अनुसार बाटोको म्याद बाहेक १५ दिनभित्र जवाफ पेश गर्न भनिएको छ । धनगढी उपमहानगरपालिकाले जग्गा प्लटिङ गर्दा १० मिटरको सडक अनिवार्य बनाउनुपर्ने लगायतका प्रावधान राखेर जग्गा प्लटिङ सम्बन्धी कार्यविधी २५ मंसिरमा स्थानीय राजपत्रमा प्रकाशित गरेको थियो ।

उक्त कार्यविधीप्रती असहमती जनाउँदै बहुमत कार्यपालिका सदस्यले छुट्टै बैठक बसेर नगर प्रमुख गोपाल हमालले एकलौटी गरेको भन्दै खारेज गर्ने निर्णय गरेपछि विवाद बढेको थियो । विवादकैबीच यो मुद्दा सर्वोच्च अदालतमा पुगेको हो । तर मेयर हमालले भने सबै कार्यपालिकाका सदस्यको सहमतीकै आधारमा कार्यविधी पारित गरिएको र नोट अफ डिसेन्ट कसैले पनि नलेखेको बताएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.