अत्तरिया : कैलालीको फूलबारीमा आसरा सुधार केन्द्र संचालनमा आएको छ । धनगढी उपमहानगरपालिका– १४ मा बुधबार एक कार्यक्रमबीच नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले उद्घाटन गरेका छन्।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कुँवरले सुधार केन्द्र स्थापनापछि यस क्षेत्रमा लागुऔषधमा फसेकाहरुलाई सुधार्न सहज हुने बताए। उनले केन्द्रको स्थापना गर्न सहयोग गर्ने सबै संघ संस्था तथा पालिकाहरुलाई धन्यवाद दिए। सुधार केन्द्र स्थापनाको लागि धनगढी उपमहानगरपालिकाले १० लाख , बेलौरी नगरपालिकाले ५ लाख र कैलारी गाउँपालिकाले र ३ लाख सहयोग गरेको सुदुरपश्चिम प्रहरी प्रमुख डिआइजी भरत बोहराले जानकारी दिए।
धनगढी उपमहानगरपालिकाले २० बर्ष सम्म को लागि नेपाल प्रहरीलाई सुधार केन्द्र संचालनको लागि उक्त ठाउँ र भौतिक संरचना उपलब्ध गराएको हो । लागू औषधमा फसेकाहरुलाई सुधार गर्नको लागि केन्द्रको स्थापना गरिएको हो। झन्डै एक सय जनालाई सुधार केन्द्रमा राखिनेछ। नेपाल प्रहरी श्रीमती संघले यस अघि काठमाण्डौ र धरानमा आसरा सुधार केन्द्र संचालन गरिसकेको छ ।
उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमाललगायत कैलाली कञ्चनपुरका विभिन्न पालिकाका प्रमुख उपप्रमुखहरु, कैलाली र कंचनपुरका प्रमुख जिल्ला अधिकारी ,विभिन्न संघ संस्थाका प्रतिनिधि एबं स्थानीय विद्यालयका विद्यार्थी सहभागी थिए।