सुदूरपश्चिम वन मन्त्रालयमा उपसचिव बिस्टको मनपरि, आठ पदको जिम्मेवारीमा आफै

अत्तरिया : सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका उपसचिव हेमराज विष्टले अहिले आठ जिम्मेवारी सम्हालिरहेको पाइएको छ । मन्त्रालयमा, निर्देशनालय र महाशाखामा गरी उनले आठ जिम्मेवारी लिइरहेको पाइएको हो ।

मन्त्रालयमा पाँच महाशाखा छन् । ती सबै महाशाखाको प्रमुखको जिम्मेवारी विष्टलाई छ । त्यस्तै सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निमित्त निर्देशकको समेत जिम्मेवारी पाएका विष्ट अहिले मन्त्रालयका निमित्त सचिवको जिम्मेवारीमा पनि छन् । उनै विष्ट मन्त्रालयको प्रवक्ता पनि हुन् । पाँचै महाशाखा प्रमुख, वन निर्देशनालयका निमित्त निर्देशक र प्रवक्ताको जिम्मेवारी पाइरहेका विष्टलाई मन्त्रालयका सचिव जीवनाथ पौडेल काठमाडौँ गएपछि निमित्त सचिवको जिम्मेवारी पनि दिइएको छ ।

सचिव पौडेल ५ गते काठमाडौँ गएका हुन् । अपि बेस क्याम्पमा आवास गृह निर्माण गर्ने, फरेष्टरको तलबको विषयमा छलफल गर्ने र चिडियाखानाको विषयमा सैद्धान्तिक सहमति लिन सचिव काठमाडौँ गएका हुन् । सचिव पौडेलको अनुपस्थितिमा विष्टले निमित्त सचिवको जिम्मेवारी पाएका हुन् । वन मन्त्रालयमा प्रशासन योजना तथा अनुगमन शाखा, वन व्यवस्थापन तथा जैविक विविधता महाशाखा, विज्ञान वातावरण तथा जलवायु परिवर्तन महाशाखा, वाणिज्य तथा आपूर्ति महाशाखा र औद्योगिक तथा पर्यटन प्रवर्द्धन महाशाखा गरी पाँच महाशाखा छन् । ती सबै महाशाखा प्रमुख हुन् विष्ट । विष्टको कार्यकक्षमा पनि कुनै विभागीय महाशाखा नाम छैन उनलाई महाशाखा प्रमुख भनिएको छ ।

सबै महाशाखा प्रमुख एउटै व्यक्ति हुँदा काम पनि प्रभावकारी नभएको गुनासो आइरहेको छ । त्यसै माथि मन्त्रालयको निमित्त सचिव र प्रदेश वन निर्देशनालयका निमित्त निर्देशकको पनि जिम्मेवारी लिइरहेका विष्टलाई अहिले कार्यक्रममा जानै भ्याइ नभ्याई छ । उपसचिव विष्ट भने अझै आफूलाई काम कम भएको बताउँछन् । केही समय अघि सम्म यहाँका दुई महाशाखामा प्रमुख थिए । उनीहरू दुवैले आफ्ना दुई महाशाखा मात्रै हेरिरहेका थिए । उनीहरूको सरुवा भइसकेपछि उपसचिव बिस्टकै चाहना अनुसार सचिव स्तरीय निर्णयबाट विष्टलाई सबै महाशाखा प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले स्रोतले जानकारी दियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.