बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

काठमाण्डौँ, १३ पुस : एकजना किशोरीलाई बलात्कार गरेको अभियोगमा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी ठहर गर्दै फैसला सुनाएका हुन् । पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको अदालतको ठहर छ । किशोरीको उमेर भने १८ वर्ष पुगेको अदालतले मानेको छ । त्यसैले ७ देखि १० वर्षसम्मको कैद हुन सक्ने देखिएको छ ।
मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ (ङ) मा १८ वर्ष वा त्यसभन्दा बढी उमेरकी महिला पीडित भए ७ देखि १० वर्षसम्म कैद हुन व्यवस्था छ । अदालतले कसुर निर्धारणका लागि आगामी पुस २५ गते छुट्टै सुनुवाइ गर्नेछ । उक्त सुनुवाइबाट सन्दीपले कैद सजाय भोग्नुपर्ने अवधि तय हुनेछ ।
गौशाला २६ नाम दिइएकी किशोरीलाई काठमाडौँको सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको अभियोग लामिछानेलाई लागेको थियो । गत आइतबारदेखि चलेको बहस शुक्रबार साँझ सकिएसँगै न्यायाधीश ढकालले सन्दीपविरुद्धको अभियोग ठहरिने फैसला सुनाएका हुन् ।
६ दिनसम्म चलेको बहसपछि न्यायाधीश ढकालले शुक्रबार साँझ यो फैसला सुनाएसँगै राष्ट्रिय टोलीका पूर्वकप्तान लामिछानेले कैद बस्नुपर्ने भएको छ । यस प्रकरणमा सबैभन्दा पेचिलो विषय पीडित भनिएकी किशोरीको उमेर भएको थियो । पीडित पक्षले नाबालिगमाथि बलात्कार भएको दाबी गर्दै आएको थियो ।
उता सन्दीपको पक्षबाट किशोरी नाबालिग नभएका जन्मदर्तासहितका कागजपत्र र अन्य प्रमाण अदालतमा पेश गरेको थियो । सन्दीपविरुद्ध आफूलाई नाबालिग बताउँदै गौशाला २६ ले जबरजस्ती करणी आरोप लगाएकी थिइन् ।
२०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा बलात्कारको आरोप लगाउँदै ती गौशाला २६ ले जाहेरी दिएकी थिइन् । त्यसपछि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो ।
१८ वर्ष नपुगेकी नाबालिगमाथि करणी गरेको कसूरमा त्यसबेला सन्दीपलाई १२ वर्ष कैद सजाय माग गरिएको थियो । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ९३० को देहाय (घ)अन्तर्गतको कसुर गरेको अभियोग उनीमाथि थियो । उक्त कसुरमा १६ वर्षभन्दा बढी तथा १८ वर्षभन्दा कमकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद हुने उल्लेख छ । त्यसबेला सन्दीपलाई बढीमा १२ वर्ष कैद सजाय माग गरिएको थियो ।
आफू १७ वर्ष मात्रै भएको दाबीसहित गौशाला २६ नामकी ती किशोरीले काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलको कोठा ३०५ मा बलात्कार गरेको अभियोग लगाएकी थिइन् । उनको जाहेरी सन्दीप विदेशमा रहेकाले गौशाल प्रहरी वृत्तमा दिएकी थिइन् । त्यसबेला उनले काठमाडौंबाट नगरकोट लगेर, त्यहाँबाट फर्काएपछि सिनामंगलको होटलमा रातभर राखेर बलात्कार गरेको बयान दिएकी थिइन् ।
प्रहरीले पनि २०७९ भदौ ५ गते राति एक होटलको ३०५ नम्बर कोठामा सन्दीपले बलात्कार गरेको अभियोग पत्र सरकारी वकिलमार्फत दर्ता गराएको थियो । बलात्कार भएको जाहेरी दर्ता गरेपछि प्रहरीले किशोरीको स्वास्थ्य जाँच गरेको थियो ।

जाहेरीपछि प्रहरीले सन्दीपलाई वेस्टइन्डिजबाट अमेरिका हुँदै आउने क्रममा प्रहरीले पक्राउ गरेको थियो । जाहेरी पर्दा विदेशमा रहेका सन्दीप २०७९ असोज २० गते नेपाल फर्किएका थिए । उनलाई त्रिभुवन विमानस्थलबाटै हत्कडी लगाए हिरासतमा लिइएको थियो ।
त्यसपछि असोज १८ गते जिल्ला अदालत काठमाडौंले थुनामा पठाएका सन्दीपलाई उच्च अदालत पाटनले २०७९ पुस २८ गते धरौटीमा छाड्न आदेश दिएको थियो । उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले २० लाख धरौटीमा छाड्न आदेश दिए पनि विदेश जान प्रतिवन्ध लगाएको थियो । उच्चको आदेशअनुसार उनी २०७९ पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएका थिए । उच्चको उक्त आदेशविरुद्ध दुवै पक्ष सर्वोच्च पुगेका थिए । सन्दीपले धरौटी घटाउन र विदेश जान लागेको प्रतिबन्ध हटाउन माग गरेका थिए ।
पीडित पक्षले भने सन्दीपलाई थुनामै फर्काउन माग गरेको थियो । तर सर्वोच्चले सन्दीलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध सर्तसहित हटाइदिएको थियो । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको इजलासले प्रतिबन्ध हटाएसँगै सन्दीपले राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका थिए ।
त्यसपछि २०७९ फागुन १५ गते सर्वोच्च अदालतले यो मुद्दा तत्काल टुंग्याउनसमेत जिल्ला अदालतलाई आदेश दिएको थियो । तर सर्वोच्चको आदेशपछि पनि जिल्ला अदालतबाट विभिन्न बहानामा यो मुद्दा टुंगिन एक वर्ष लाग्यो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.