अत्तरिया, ३ चैत : नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुदूरपश्चिमको दोस्रो अधिवेशन शनिबारदेखि सुरु भएको छ । गोदावरीमा आयोजित दोस्रो अधिवेशन तथा चौथो प्रदेश सभाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक कार्यक्रमबीच उद्घाटन गरे । अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले शताब्दीयौंदेखि उच्च सील्पकार रहेका सुनचाँदी व्यवसायीलाई राज्यले उच्च सम्मान दिनुपर्ने बताए । उनले भने । ‘प्रदेश सरकार सुनचाँदी व्यवसायलाई सुरक्षित तथा मर्यादित बनाउन गम्भीर छ ।’
मुख्यमन्त्री शाहले संघीय सरकारले अझैं पनि कतिपय आवश्यक कानुन नबनाएका कारण प्रदेश सरकारलाई काम गर्न कठिनाई भइरहेको दोहोराए । ‘निश्चय पनि धेरै कठिनाईहरू छन्, संघको ढिलाईका कारण कतिपय कानुनको अभाव छ, तर सरकारले सुनचाँदी व्यवसायमा सहजता ल्याउन पहलगर्ने छ ।’
उद्घाटन कार्यक्रमको अध्यक्षता गरेका महासंघका प्रदेश अध्यक्ष सन्तोष लामिछानेले सुनचाँदी व्यवसायीले अहिले करिब ६० प्रतिशत सुनचाँदी (गहना) ग्राहकहरूबाट खरिद गर्ने गरेको र ४० प्रतिशतमात्रै सरकारबाट कच्चा सुुनचाँदी किन्न पाउने अवस्था रहेको बताए ।
प्रदेश अध्यक्ष लामिछानेले नेपालका मौलिक गरगहनाहरूलाई राष्ट्रिय गहनाको मान्यता दिन सरकारसँग आग्रह गरे । भने । ‘यसका लागि देशव्यापी अभियान सञ्चालन गरिने छ ।’
उद्घाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ, सुदूरपश्चिम प्रदेशका वरिष्ठ उपाध्यक्ष मदन पन्तले पछिल्ला वर्षहरूमा निजी क्षेत्रमाथि निकै चुनौति र समस्या थपिएको चर्चा गरे । उनले भने । ‘अझैं केही वर्ष व्यापार व्यवसायमा सुधार हुने छाँट देखिएको छैन, जसोतसो धानिरहेको मात्रै अवस्था छ ।’
कार्यक्रममा महासंघका प्रदेश सदस्य शकुन्तला सोवले स्वागत गरेकी थिइन् । उद्घाटन समारोहको सञ्चालन प्रेरणा पाण्डेले गरेकी थिइन् ।
। महासंघको नयाँ प्रदेश नेतृत्व समेत चयन हुने अधिवेशनमा प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।