Agni Offset Press

धनगढी उपमहानगरको गेटमा जग्गा कारोबारीले लगाए ताला

Aarati simant

अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकामा जग्गा व्यवसायीले तालाबन्दी गरेका छन् । आईतबार व्यवसायीहरुले उपमहानगरपालिकाको जग्गा प्लटिङ्ग सम्बन्धी कार्यविधिको विरोधमा उपमहानगरपालिकाको गेटमा तालाबन्दी गरेका हुन् ।
उपमहानगरपालिकाले कित्ताकाट गरेर जग्ग्गाको कारोबार सहज गर्नुपर्ने भन्दै तालाबन्दी गरिएको हो । धनगढी वडा नम्बर ७ का कृष्ण रानाले धनगढी उपमहानगरपालिका, मालपोत र अदालतका कारण सर्बसाधारणलाई समस्या भएको बताए । घरमा दाईभाईको अंशबण्डा गर्न खोजिरहेको भएपनि प्लटिङ्ग सम्बन्धी कार्यविधिले काम रोकिएको बताए । ‘जग्गा बेचेर ऋण तिर्नुपर्ने र जग्गै बेचेर हरेक कामकाज गर्नुपर्छ’ उनले भने । ‘बालबच्चाको उच्चशिक्षाको लागी र बिदेश पठाउन समस्या भएको छ ।’ जग्गा बेचिरहेकोले कित्ताकाट नगरिदा निकै तनावमा रहेको उनले गुनासो गरे ।
धनगढी–७ कै पञ्चराम चौधरीले धनगढीका मेयर गोपाल हमालले आफुहरुको गुनासो सम्बोधन नगरेको बताए । उनले आक्रोश ब्यक्त गर्दै भने, आफ्नो २० फिटमा जग्गा प्लटिङ्ग गर्ने अनि जनतालाई ३३ फिटे बाटोमा लागु गर्ने यो कस्तो न्याय गरेको हो । उनले जनताको कुरा नसुनेको र आफ्नो कुरा राख्दा उपमहानगरपालिकाको गेट बन्द गराएको आरोप लगाए । उपमहानगरपालिकाले आकस्मिकरुपमा ल्याएको कार्यविधिले व्यक्ति तथा जग्गा व्यवसायीहरुलाई समस्या हुने भएको संघर्ष समितिका संयोजक उपेन्द्र अवस्थीले बताए । कार्यविधि सच्याउनुपर्ने व्यवसायीको माग छ । प्रवेशद्वारमा जग्गा कारोबारीले लगाएको ताला केहिवेरमै नगर प्रहरीले तोडेका हुन ।
धनगढीका जग्गा कारोबारीले कित्ताकाट हुनुपर्ने माग गर्दै तालाबन्दी गरेपनि उपमहानगरले बनाएको कित्ताकाट सम्बन्धी कार्यविधिको बिरोध गर्दै सर्वोच्चमा दायर रिटका कारण जग्गाको प्लटिङ र कित्ताकाट रोकिएको जनाएको छ । जग्गा कारोबारीले अदालतमा मुद्दा हालेका कारण अदालतको अन्तिम फैसला नआउन्जेल उपमहानगरले चाहेर पनि जग्गाको प्लटिङ र कित्ताकाट गर्ने अवस्था नभएको नगर प्रमुख गोपाल हमालले बताए । नगर प्रमुख हमालले सर्वोच्चमा हालेको मुद्दाका कारण कित्ताकाट रोकिएको दावी गरे ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.