
कञ्चनपुर : हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबा महानन्दले राहतभन्दा पनि छोराको उद्धारमा पहल गरिदिन आग्रह गरे । उनले राहत आएको सुने पनि त्यसबारे चासो दिएका छैनन् । ‘छोराको उद्धार गरिदिनुपर्यो, हामीलाई अरूथोक भन्दा पनि छोरा चाहियो,’ जोशीले भने, ‘छोराको खबर कतैबाट सुनिन्छ कि भनेर बसेका छौं, यतिका दिनसम्म केही खबर पाइएन ।’
इजरायली दूतावासले जोशी परिवारको खाता नम्बर मागेको थियो । उक्त खातामा रकम पठाएको जानकारी पनि गरेको छ । तर रकम कति आयो भन्नेबारे उनले बताएनन् । निवर्तमान परराष्ट्रमन्त्री एनपी साउदलाई उनको परिवारले तीनपटक भेटेर उद्धारका लागि आग्रह गरेको थियो ।
‘परराष्ट्रमन्त्री यही जिल्लाका थिए, सोध्न त सजिलो थियो,’ जोशीले भने, ‘अब त्यही सोध्न पनि हाम्रो पहुँच छैन ।’ सरकारले जोशीको रिहाइका लागि इजरायल, कतार र अन्तर्राष्ट्रिय मानव सहायतासम्बन्धी संस्थाहरूलाई आग्रह गरेको छ । तर इजरायल र हमासबीचको युद्ध नरोकिएका कारण जोशीसहित एक सयभन्दा बढी मुलुकका नागरिकलाई हमासले बन्दी बनाएरै राखेको छ ।
