Agni Offset Press

एमाले कञ्‍चनपुर अधिवेशन : निर्वाचनको माग गर्दै पार्टी कार्यालयमा धर्ना

Aarati simant

कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरको जिल्ला अधिवेशनमा सर्वसम्मत पदाधिकारी घोषणा गर्ने तयारी भएपछि विवाद भएको छ । नवौं जिल्ला अधिवेशनमा सर्वसम्मत पदाधिकारी घोषणाको तयारी भएपछि विवाद भएको हो ।

अध्यक्ष मण्डलले सोमबार पदाधिकारीमा सर्वसम्मत घोषणा गर्ने तयारी गरेपछि सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर चन्दले जिल्ला पार्टी कार्यालयको निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए । त्यसपछि महाधिवेशन प्रतिनिधिहरूले निर्वाचन कार्यालय अगाडि धर्ना दिएका छन्।

उनीहरुले प्रतिनिधिहरुबाट नेतृत्व चयनको अधिकार नखोस्न चेतावनी दिँदै निर्वाचनको माग गरेका छन् । “निर्वाचन हुन्छ भनेर हामी चार दिनदेखि यहाँ बसेका छौं,’महाधिवेशन प्रतिनिधि शान्ति तामाङले भनिन्–“दुईचारजना नेता बसेर टीका लगाएको पदाधिकारी मान्य हुँदैन, निर्वाचन हुनुपर्छ ।’

उनले प्रतिनिधिहरूलाई मताधिकार प्रयोग गरी नेतृत्व चयन गर्न दिनुपर्ने बताइन् । एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि ४ सय ६४ मतदाता रहेका छन् । अध्यक्ष केपी शर्मा ओलीले गत बिहीबार नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । उनले सम्भव हुँदासम्म सर्वसम्मत नभए स्वच्छ निर्वाचन मार्फत नेतृत्व चयन गर्न नेता कार्याकर्ताहरूलाई निर्देशन दिएका थिए । अध्यक्ष मण्डलले चारदिनदेखि सहमतिको प्रयास गरेपनि सहमति हुन सकेको छैन । सहमतिकै लागि पटकपटक निर्वाचन प्रक्रिया लम्ब्याउन थालेपछि प्रतिनिधिहरू आक्रोशित बनेका छन् ।
अधिवेशनबाट ५ पदाधिकारीसहित १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनेछ । त्यसमा भौगोलिक क्षेत्रबाट ५०,समावेशी ४६, खुला १९ सदस्य निर्वाचित हुने छन् । निर्वाचनबाट ७ सदस्यीय लेखा समिति पनि निर्वाचित हुनेछ । अध्यक्षका लागि वर्तमान कार्यवाहक अध्यक्ष लक्ष्मी बुढा र नेता अशोक चन्दले उम्मेदवारी दर्ता गराएका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.