अत्तरिया, १८ जेठ : कैलालीको गोदावरी नगरपालिका–१० खामौराले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । वडाले शुक्रबार वडा भेलामार्फत वडा सदस्य शेरबहादुर तामाङ्गले ७१ लाख ८४ हजार ५ सय ८६.६० को बजेट सार्वजनिक गरेका हुन् । जस्मा भौतिक पूर्वाधार विकास तर्फ ३१ लाख, सामाजिक विकासतर्फ १७ लाख ७५ हजार विनियोजन गरिएको वडा सदस्य तामाङ्गले बताए ।
त्यसैगरी आर्थिक विकासतर्फ ७ लाख, वातावरण तथा विपद् व्यवस्थापनका लागि १० लाख ९ हजार ५ सय ८६.६० रुपैयाँ र सार्वजनिक सेवा तथा संस्थागत क्षमता विकासका लागि ६ लाख बजेट विनियोजन गरिएको छ ।
वडा अध्यक्ष रवीन्द्र शाहीको अध्यक्षतामा आयोजित वडा भेला कार्यक्रममा नगर उप प्रमुख शारदादेवी रोकाया प्रमुख अतिथि रहेकी थिईन् । कार्यक्रममा नगर प्रवक्ता तथा वडा न १ का वडा अध्यक्ष गोपालदत्त भट्ट, वडा नं १२ का वडा अध्यक्ष भीमबहादुर खड्का, वडा नं ११ का वडा अध्यक्ष प्रेमसिंह बडैला, वडा नं ३ का वडा अध्यक्ष तेज राज अवस्थी, कार्यपालिका सदस्यहरू, लगायत राजनीतिक दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधि तथा वडावासीको सहभागिता रहेको थियो ।
वडामा विशेष गरी स्वास्थ्य तथा पोषण, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, महिला, बालबालिका तथा समाज कल्याण, संरक्षण, खानेपानी तथा सरसफाई लगायतका योजनाहरुमा खर्च गरिने बताईएको छ । उक्त बजेटबाट कृषि तथा पशुपंक्षी, सिँचाई, उद्योग, वाणिज्य तथा आपुर्ति, सांस्कृतिक तथा पर्यटन, सहकारी तथा गरिवि निवारण लगायतका योजनाहरु सञ्चालन गरिनेछन ।
त्यसैगरी यस वडामा आगामी ५ वर्ष भित्र शुद्ध खानेपानी तथा सिँचाइ व्यवस्था गरिने जनाएका छन् । छुवाछुत, सामाजिक विभेद, छाउपडी मुक्तसमाज निर्माणका लागि अगाडि बढ्ने जनाएको छ । डुबान तथा नदी कटानका लागि विशेष पहल गरिने लगायतका कामहरू प्राथमिकताका साथ अगाडि बढाउने जानकारी वडा न १० का वडा अध्यक्ष रवीन्द्र शाहीले बताए ।
सम्बन्धित पाेस्टहरु