अत्तरिया : गोदावरी नगरपालिका वडा नं १ प्रथम वडा अध्यक्ष कप वडास्तरीय खुल्ला भलिबल प्रतियोगिताको उपाधि वडा नं २ तेघरीले हात पारेको छ । प्रतियोगिता सृजनशील युवाक्लब अत्तरियाले आयोजना गरेको हो । शनिबार सम्पन्न प्रतियोगिताको अन्तिम खेल गोदावरी नगरपालिका वडा नं २ को तेघरी सामुदायीक वन र गोदावरी ३ नं वडा मालाखेती बीच भएको थियो । पाँचौं सेट खेलाईएको अन्तिम खेलमा वडा नं २ तेघरी सामुदायीक वनले आफ्नो उत्कृष्ट खेल प्रदर्शनी गर्दै विपक्ष वडा नं ३ मालाखेतीलाई लगातार ३ सेट जितेर प्रथम भएको हो ।
प्रथम भएको टीम वडा नं २ ले २१ हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल, प्रमाण पत्र पाएको थियो भने दोस्रो हुने टीम वडा नं ३ ले ११ हजार रुपैयाँ नगद सँगै ट्रफि, मेडल सहित प्रमाण पत्र पाएको थियो ।

यस्तै समापन कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर १ को वडा अध्यक्ष गोपालदत्त भट्ट रहेको थिए । उनले खेलकुदले खेलाडीहरुलाई स्वास्थ्यमा टेवा पुग्ने साथै विश्वका विभिन्न देशहरुमा खेलकुदकै माध्यमबाट देशको नाम चिनाउन सफल भएका बताए । युवाहरु खेलमा सक्रिय भएसँगै आफ्नो क्लबमा खेलमा आवश्यक पर्ने सामग्रीहरूको अभाव भएमा वडामा सम्पर्क गरी वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । युवाहरुले आफ्नो क्षेत्रमा रहेका गतिविधि विकासका कार्य लगायत अहिले बढ्दै गरेको लागुऔषध जस्ता नकारात्मक क्रियाकलापहरुलाई वडा कार्यालय सँग सहकार्य गरेर वा प्रहरीलाई खबर गरी युवाहरुद्वारा यस्ता नकारात्मक क्रियाकलापहरुमा न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वस व्यक्त गरे । प्रतियोगिता गोदावरी नगरपालिका वडा नं १ स्थित आयोजक सृजनशील युवा क्लबको खुला खेलमैदानमा भएको थियो भने प्रतियोगिताको मुख्य प्रवर्धक गोदावरी वडा नं १ को कार्यालय रहेको थियो । खेलमा सहभागी टिम, उत्कृष्ट खेलाडीहरूलाई ट्रफि, मेडल, प्रमाणपत्र वितरण गरिएको साथै खेलहरु नक आउट चरणमा खेलाईएको हो ।
