
काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस) को तेस्रो त्रैमासिक कोटाअन्तर्गत भदौ १७ गते करिब ४१ हजार जनाको करार सम्झौता हुने भएको छ । कोरियाले यो वर्षको नेपालसहित विदेशी श्रमिकको माग कोटा भदौमा छनोट गर्न लागेको हो ।
सम्झौता इस्यु हुनु भनेको हाल रोष्टरमा रहेका मध्ये तेस्रो त्रैमासिकमा रोजगारदाताले आवश्यक पर्ने विदेशी कामदार छान्ने अवधि हो । छुट्याइएको ४० हजार ९८८ मध्ये उत्पादनमूलक क्षेत्रका लागि २५ हजार १६८, शीप बिल्डिङका लागि १ हजार ६२५, कृषि तथा पशुपालनका लागि ४ हजार ५५९, सेवा क्षेत्रका लागि ५ हजार ५८, निर्माण क्षेत्रका लागि १ हजार ७६८ र मत्स्यपालन क्षेत्रका लागि २ हजार ८१० छनोट गरिने जनाइएको छ । यसमध्ये कुन देशलाई कति कोटा दिने खुलाइएको छैन । छनोट प्रक्रिया भदौ १७ गतेबाट हुने एनआरडी कोरियाले जनाएको छ । ईपीएसअन्तर्गतका १६ देशमध्ये नेपाल सबैभन्दा बढी कामदार पठाउने देश भएका कारण यो पटकको छनोटमा नेपालबाट सबैभन्दा बढी युवा छानिने अनुमान छ ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखाकी निर्देशक मैया कँडेलले अन्य देशको तुलनामा नेपालबाट धेरै कामदार छनोट गर्ने भएकाले आगामी दिनमा नेपालबाट बढीभन्दा बढी युवाले कोरियामा रोजगारी पाउन सक्ने बताइन् । विगतका वर्षमा वार्षिक औषत १ लाख विदेशी श्रमिक माग गर्दै आएकोमा यो वर्ष कोरियाले सबै देशबाट गरी १ लाख ६० हजारभन्दा बढी श्रमिक लैजाने जनाएको छ । नेपालबाट हाल कोरिया जाने प्रक्रिया पूरा गरेका ९ हजारभन्दा बढी युवा रोष्टर ९प्रतीक्षा सूची०मा रहेका छन् ।
नेपालबाट ईपीएस भाषा परीक्षामा धेरै आवेदन पर्न थालेपछि आगामी वर्ष २०२५ देखि रोजगार अनुमति प्रणालीअन्तर्गत रोजगारीका लागि कोरिया जान चाहने नेपाली युवाका लागि सबै क्षेत्रको आवेदन एकै पटक खुला गरिने भएको छ । निर्देशक कँडेलका अनुसार आवेदकले आफूले चाहेको उत्पादनमूलक, कृषि तथा पशुपालन, शीप बिल्डिङ, सेवा क्षेत्र र पछिल्लो समय वन क्षेत्रमा आवेदन दिन सक्नेछन् । शाखाले धेरै क्षेत्रका लागि एकै पटक आवेदन माग गर्दा कोटासमेत बढी आउने र सबैले क्षेत्रअनुसार आवेदन दिन सक्ने जनाएको छ । आगामी वर्षदेखि सबै क्षेत्रको आवेदन एकैपटक आह्वान गरिने भएकाले एक आवेदकले आफूले चाहेको क्षेत्रमा मात्र आवेदन दिन सक्नेछन् ।
यसरी आवेदन माग गर्दा कोरियाले लैजान चाहेको संख्याको ३ गुणा बढीको नाम रोष्टरमा रहने गरी व्यवस्थापन गरिनेछ । यसैगरी रोष्टरमा रहने संख्याभन्दा ३ गुणा बढीको परीक्षा आवेदन माग गरिनेछ । कृषि तथा पशुपालन, उत्पादन, शीप बिल्डिङ तथा सम्भावित सेवा क्षेत्रको आवेदन एकै पटक खुल्ने गरी सूचना पठाउन नेपालले कोरियालाई अनुरोध गरेको भए पनि कोरियन पक्षबाट प्रतिक्रिया आएको छैन । अर्को वर्षदेखि कृषि क्षेत्रमा रोजगारीमा जान फारम भर्नेले उत्पादनमूलक लगायत अन्य क्षेत्रमा आवेदन दिन पाउने छैनन् । आवेदकले जुन क्षेत्रमा भरे पनि एउटामा मात्रै भर्न पाइने जनाइएको छ ।
यसअघि सन् २०२४ का लागि शीप बिल्डिङको परीक्षामा सहभागी भएकाहरू उत्पादन क्षेत्रको परीक्षामा सामेल हुन नपाउने भएपछि युवाहरू विरोधमा उत्रिएका थिए । त्यस क्रममा बालकुमारीमा भएको झडपमा दुई जनाको ज्यानसमेत गएको थियो । यो घटनाले निकै ठूलो तरंग ल्याएपछि शाखाले यस्ता समस्या दोहोरिन नदिन एकै पटक आवेदन खुलाउने र एउटा क्षेत्रमात्रै रोज्न पाउने व्यवस्था गर्ने भएको हो । परीक्षा आवेदन खुलाउँदा माग, रोष्टरमा रहने संख्या र कोरियाले लैजाने संख्याको आधारमा आवेदन पूरा भएपछि स्वतः अनलाइन आवेदन प्रणाली बन्द हुनेछ ।
