सिन्धुली : बिस्तारै गाउँ रित्तिँदै गएपछि मलामी पाउन पनि मुस्किल पर्न थालेको छ । सिन्धुलीको तीनपाटन गाउँपालिका–७ मा आइतबार कृष्णमाया पहाडीको मृत्यु हुँदा मलामीको अभावमा केही समय शव उठाउन पनि समस्या भयो । गाउँभरि हारगुहार गरी एक महिला र तीन पुरुष जम्मा भएपछि उनको शव उठेको हो ।
तोश्रामखोला गाउँकी ६५ वर्षीया पहाडीको आइतबार मृत्यु भएको हो । उनको सद्गतका लागि घाट लैजान शव बोक्ने मानिस चार जना मात्र थिए । गाउँकै हिम्मतिली महिला मनमाया अधिकारी शव बोक्न कस्सिएपछि कृष्णमायाको शव उठ्न सम्भव भएको हो ।
केही वर्षअघिसम्म भने गाउँमा कसैको मृत्यु हुँदा ५० जना मलामी नघट्ने गरेको वडाध्यक्ष युवराज पहाडीले बताए । बिरामी कृष्णमायाको निधन भएपछि उनका छोरा, वडाध्यक्ष, वडाध्यक्षका भाइ तोयानाथ र अर्का एक जनाले डेढ घण्टा शव बोकेर वाक्सुखोलामा रहेको घाटसम्म पुर्याएका थिए । वडाध्यक्ष पहाडी पनि सोही गाउँका हुन् । मृतक कृष्णमायाका एक छोरा र दुई छोरी छन् ।
सिंगो वडामा चार सयभन्दा बढी घरधुरी छन् । गाउँमा ७० घरभन्दा बढीको बसोबास छ । त्यीमध्ये क्षत्री–ब्राह्मणका ८ घर रहेका छन् । ती ८ घरका पुरुष कोही विदेश छन् भने केही राजधानीतिर अध्ययन र रोजगारीमा रहेका छन् । क्षेत्री–ब्राह्मणको शव जनजाति र दलित समुदायले छुन नहुन चलन रहेकाले पनि समस्या भएको वडाध्यक्ष पहाडीले बताए । ‘एक त गाउँ रित्तिँदै छ,’ उनले भने, ‘त्यसमाथि यस्ता रुढीवादी संस्कारले झन् ठूलो समस्या ल्याएको छ ।’
स्थानीय काशीराज दाहालका अनुसार पहिला गाउँमा जुनसुकै जातका पनि टन्न मानिस हुन्थे । अर्मपर्म र मृत्यु संस्कारमा छिमेकी गाउँबाट समेत मानिसहरू जम्मा हुन्थे । ‘अहिले बिस्तारै गाउँ रित्तिँदै छ,’ उनले भने, ‘अहिले आएर शवलाई काँध दिने आफन्त तथा छिमेकीसमेत पाउन मुस्किल भयो ।’ तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगर आफूले जान्दासमेत अहिलेसम्म यस्तो नभएको बताए । गाउँ रित्तिँदै गएको कुराले आफू झस्किएको उनको भनाइ छ ।